बंगलादेश : निर्वासित नेता तारिक चुनावमार्फत प्रधानमन्त्री बन्ने तयारीमा

हिमाल प्रेस २१ असोज २०८२ ८:५१
30
SHARES
बंगलादेश : निर्वासित नेता तारिक चुनावमार्फत प्रधानमन्त्री बन्ने तयारीमा बंगलादेशका विपक्षी नेता तारिक रहमान

निर्वासनमा रहेका बंगलादेशका विपक्षी नेता तारिक रहमानले आगामी निर्वाचनमा भाग लिन स्वदेश फर्कने तयारीमा रहेको बताएका छन्। सन् २०२४ मा सेख हसिनाको पतनपछि हुन लागेको चुनावमा आफ्नो पार्टीले अत्यधिक बहुमत हासिल गर्ने विश्वास तारिकको छ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) प्रमुख रहमानले फाइनान्सियल टाइम्ससँगको अन्तरवार्तामा भने, ‘विद्यार्थी नेतृत्वमा भएको क्रान्तिले हसिनाको अधिनायक शासनलाई ढाले पनि स्वतन्त्र र विश्वासयोग्य निर्वाचन नभएसम्म त्यसको पूरा अर्थ साकार हुँदैन।’ उनले सरकार गठनका लागि आफ्नो दल सक्षम रहेको दाबी गरे। रहमानले भने, ‘म बंगलादेश फर्कने समय अब धेरै टाढा छैन।’

बंगलादेशको आगामी सरकारले कमजोर अर्थतन्त्र, अमेरिकाले लगाएको सुती कपडामा शुल्कका कारण प्रभावित गार्मेन्ट उद्योग र सेख हसिना शरण लिएको भारतसँगको बिग्रिएको सम्बन्ध जस्ता चुनौतीहरूको सामना गर्नुपर्नेछ। अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार सुनिश्चित गर्नु आगामी सरकारका अन्य चुनाैती हुन्।

सर्वेक्षणहरूका अनुसार आगामी फेब्रुअरीमा हुने निर्वाचनमा बीएनपी अग्रस्थानमा देखिएको छ। तारिक रहमान प्रधानमन्त्री पदका मुख्य दाबेदारका रूपमा देखिएका छन्। अन्तरिम नेता मुहम्मद युनुसले सेख हसिनाको आवामी लिगलाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएका छन्।

रहमानले विद्यार्थीद्वारा नेतृत्व गरिएको नयाँ राजनीतिक समूहसहित अन्य दलहरूसँग मिलेर सरकार गठन गर्न बीएनपी तयार रहेको बताए। ‘हामी युवाहरूलाई राजनीतिमा स्वागत गर्छौँ’, रहमानले भने, ‘भविष्य उनीहरूकै हो।’

रहमानले करिब १७ करोड जनसंख्या भएको बंगलादेशका लागि भविष्यको आर्थिक कार्यक्रमका केही रूपरेखा पनि प्रस्तुत गरेका छन्। उनले देशको अर्थतन्त्रलाई कपडा निर्यातमा मात्र निर्भर राख्ने परम्पराबाट हटाउँदै बंगलादेशलाई अमेजन, इबे र अलिबाबाजस्ता अनलाइन व्यापार कम्पनीहरूको ‘आपूर्ति केन्द्र’ बनाउने योजना सुनाए।

यसैगरी रहमानले भारतसँग सबैभन्दा पहिले बंगलादेश नीति अपनाउने घोषणा गरे। यसो गरेमा हसिनाको पक्षमा लामो समयदेखि झुकेको एकतर्फी सम्बन्धलाई सन्तुलित गर्न मद्दत गर्ने उनको विश्वास छ।

बंगलादेशको राजनीतिमा दुई प्रमुख पारिवारको जरा गाडिएको छ। हसिना देशका स्वतन्त्रता नेता तथा संस्थापक राष्ट्रपति सेख मुजिबुर रहमानकी छोरी हुन्। सन् १९७५ मा सेनाका अधिकारीहरूले सेख मुजिबर र उनका अधिकांश परिवारजनको हत्या गरेका थिए।

तारिक रहमानका पिता जियाउर रहमान पूर्वराष्ट्रपति र स्वतन्त्रता संघर्षका प्रमुख व्यक्तित्व थिए। उनको पनि सन् १९८१ मा हत्या गरिएको थियो। उनको मृत्युपछि तारिककी आमा खालेदा जियाले लामो समयसम्म बीएनपीको नेतृत्व गरिन्। उनकी ८० वर्षीया आमा खालेदा जिया अस्वस्थ छिन्।

५९ वर्षका तारिक सन् २००८ देखि बेलायतमा निर्वासनमा छन्। आफूमाथि राजनीतिक प्रतिशोधका कारण भ्रष्टाचारको मुद्दा लगाइएको दाबी रहमानको छ। रहमानले भने, ‘बीएनपी सरकार बनेमा बदला लिने परम्परा अन्त्य गरिनेछ।’ उनका अनुसार गत वर्ष अगस्टयता पार्टीले सात हजार सदस्यलाई भ्रष्टाचारका कारण अनुशासनको कारबाही गरेको छ।

तारिकले आवामी लिगलाई पुनः राजनीतिक गतिविधिमा फर्कन दिने विषयमा स्पष्ट उत्तर दिएनन्। उनले भने, ‘उनीहरू अपराधीका रूपमा दोषी ठहरिएका छन् भने आवामी लिगले कसरी निर्वाचनमा भाग लिन सक्छ?’

व्यापक भ्रष्टाचार, विरोधीमाथिको दमन, गैरन्यायिक हत्या र बेपत्ता पारिएका घटनाका कारण सेख हसिनाको १५ वर्षे शासनकाल विवादमा थियो।

रहमानले आफू निर्वाचित भएमा सेख हसिनाका आफन्तले विदेशमा लगेको भनिएका अर्बौँ डलर सम्पत्ति फिर्ता गर्ने प्रयासलाई निरन्तरता दिने बताए।

बीएनपीको पछिल्लो शासनकालमा बंगलादेशलाई ट्रान्सपेरेन्सी इन्टरनेसनलले लगातार चार वर्षसम्म विश्वको सबैभन्दा भ्रष्ट देशको रूपमा सूचीकृत गरेको थियो। बीएनपीको अघिल्लो शासनकालबारे रहमानले भने, ‘हरेक सरकारका केही कमजोरी हुन्छन्।’ उनले आफ्नै सरकारले गरेको भ्रष्टाचार बचाउ गर्दै बीएनपीकै शासनमा भ्रष्टाचार निवारण आयोग स्थापना गरिएको बताए।

विद्यार्थी नेतृत्वको नेसनल सिटिजन पार्टीका नेता नाहिद इस्लामले भने आगामी निर्वाचन पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष हुन नसक्ने चिन्ता व्यक्त गरेका छन्। बीएनपीले पहिल्यै सबै राजनीतिक क्षेत्रहरूमा वर्चस्व गरिसकेको दाबी उनको छ।

राजधानी ढाकाका सडकहरू तारिक रहमानका पोस्टर र तस्बिरले भरिएका छन्। ‘बंगलादेशको निर्वाचन संस्कृतिले हामीलाई खासै सहज अनुभव गराएको छैन’, इस्लामले भने।

आगामी निर्वाचन बंगलादेशको इतिहासमै सबैभन्दा निर्णायक मानिएको छ। सन् २०२४ मा विद्यार्थीद्वारा सञ्चालित जनआन्दोलनले हसिनालाई पदच्युत गरेको थियो। संयुक्त राष्ट्रसंघका अनुसार २०२४ मा हसिना सरकारको दमनबाट झण्डै १४ सयजनाको मृत्यु भएको थियो। हसिना हाल भारतमा शरण लिएर बसेकी छन्।

प्रकाशित: २१ असोज २०८२ ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast