
काठमाडौँ– फ्रान्सका नवनियुक्त प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार राजीनामा दिएका छन्। फ्रान्स्वा बायरुको सरकार ढलेपछि लेकोर्नुले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। लेकोर्नुले उक्त पदमा बस्दा जम्मा २६ दिन मात्र बिताएका छन्।
लेकोर्नु विगत दुई वर्षभित्र फ्रान्सका पाँचौँ प्रधानमन्त्री बनेका थिए। उनी पदबाट हट्नु केही घण्टामै नयाँ मन्त्रिपरिषद् घोषणा भएको थियो। लेकोर्नुले सोमबार बिहान राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग करिब एक घण्टा लामो भेट गरेपछि उनको राजीनामा आएको बीबीसीले जनाएको छ।
फ्रान्सेली राष्ट्रपतिको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति इम्यानुएल म्याक्रोनले प्रधानमन्त्री लेकोर्नुको राजीनामा स्वीकृत गरेको जनाएको छ।
‘यसलाई सफल बनाउन धेरै कुरा आवश्यक थिएन’, लेकोर्नुले आफ्नो राजीनामा सम्बोधनमा भने, ‘देशभन्दा अघि कुनै पार्टी हुँदैन, सधैँ राष्ट्रलाई प्राथमिकता दिनुपर्छ।’
लेकोर्नुको अप्रत्याशित राजीनामापछि राष्ट्रपति इम्यानुएल म्याक्रोनका विरोधीहरू तुरुन्तै सक्रिय बनेका छन्। दक्षिणपन्थी दल नेसनल र्यालीले म्याक्रोनलाई तुरुन्तै नयाँ आकस्मिक निर्वाचन घोषणा गर्न वा स्वयं राजीनामा दिन माग गरेको छ।
‘यो घटनाले गणतन्त्रका राष्ट्रपतिसमक्ष गम्भीर प्रश्न उठाएको छ। के उनले अझै संसद् विघटनको प्रतिरोध गर्न सक्छन्?’ दक्षिणपन्थी नेतृ म्यारिन ल पेनले समाचार संस्था एपीसँग भनिन्, ‘हामी अन्तिम मोडमा आइपुगेका छौँ। अब अर्को कुनै विकल्प छैन। वर्तमान परिस्थितिमा एक मात्र विवेकी कदम भनेको पुनः निर्वाचनमा जानु हो।’
३९ वर्षीय लेकोर्नु भदौ २४ गते प्रधानमन्त्री नियुक्त भएका थिए।