
काठमाडौँ- हेटौँडा-भैँसे हुँदै काठमाडौँ आवतजावत गर्ने सडकमा रातिको समयमा सवारी आवामगन बन्द गरिएको छ।
‘हेटौँडा-भैँसे- काठमाडौँ आवतजावत गर्ने सबै सडक खण्डहरूमा असोज २० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै किसिमका सवारीसाधनहरूको आवतजावतमा रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, जिल्ला प्रशासन कार्यालय मकवानुपरले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कार्यालयले आवतजावतमा रोक लगाइएको समय बाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवं सावधानी अपनाई यात्रा गर्न अनुरोध गरेको छ।
अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा-काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा आएका छन्।
सडकमा खसेको पहिरो पन्छ्याएपछि सोमबार बिहानदेखि हेटौँडा-कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड र हेटौँडा-पालुङ-नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए। उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा-काठमाडौँ जोड्ने भीमफेदी-कुलेखानी-सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन्।
भीमफेदी-कुलेखानी-सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए। बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छाउने कार्य भइरहेको छ।