
काठमाडौँ- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालयका सामाजिक सञ्जाल आफैँसँग राखेपछि सरकारले प्रधानमन्त्रीका लागि नयाँ एकाउन्ट सञ्चालनमा ल्याएको छ। ओलीले लगेकै कारण ट्विटरमा अन्तरिम सरकारकी प्रधानमन्त्रीका नाममा अर्को एकाउन्ट खोल्नुपरेको सरकारी अधिकारीहरू बताउँछन्।
यसअघि राष्ट्रपतिबाट बिदा हुँदा विद्यादेवी भण्डारीले ट्विटर एकाउन्ट आफैँसँग लगेकी थिइन्।
सरकार परिवर्तन हुनेबित्तिकै पुरानो ‘ट्विटर ह्यान्डल’ बन्द गरी नयाँ नामबाट खाता खोल्ने प्रचलन नियमितजस्तै बनेको छ।
प्रविधिको विकाससँग पछिल्लो समयमा सामाजिक सञ्जाल संस्थागत स्मृतिको माध्यम पनि बन्न थालेको छ। यसरी एकाउन्ट परिवर्तन गर्दा संस्थागत अभिलेख हामी कति कमजोर रहेछौँ भन्ने स्पष्ट हुन्छ। प्रत्येक पदाधिकारीले आफू आएपछि नयाँ थालनी गर्ने र जाँदा सबै बोकेर जाँदा संस्थागत अस्थिरताको बढ्छ।
सामाजिक सञ्जालमा मात्रै होइन, संस्थागत सम्पदा र स्मृति जोगाउने संस्कार पनि कमजोर बन्दै गएको छ। यस्तै पृष्ठभूमिमा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा आगलागी भएको खबर आइरहँदा प्रश्न उठ्छ- यस्तो अवस्थामा देशको इतिहास कसरी सुरक्षित रहला?
यसैबीच कार्की नेतृत्वको सरकारले प्रधानमन्त्रीका लागि सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राममा नयाँ एकाउन्ट खोलेको छ।