बन्धक आदानप्रदान गर्न आतुर छौँ : हमास

हिमाल प्रेस १९ असोज २०८२ २०:०४
26
SHARES
बन्धक आदानप्रदान गर्न आतुर छौँ : हमास फाइल तस्बिर।

कायरो (रासस/एएफपी)- हमासले आइतबार इजरायलसँग बन्धक आदानप्रदान छिटै सुरु गर्न आफू तयार रहेको र इजरायलले पनि यसलाई ढिलो नगरी शान्ति प्रक्रियालाई अघि बढाओस् भन्ने चाहेको बताएको छ।

गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुई युद्धरत पक्षका वार्ताकारहरू इजिप्टमा भेट्न लागेका बेला हमासको यो भनाइ सार्वजनिक भएको हो।

वार्ता व्यापक र दिगो युद्धविराम प्राप्त गर्ने ठूलो अवसर भएको इजिप्टसहित कैयौँ देशका विदेशमन्त्रीहरूले बताएका छन्।

हमासका एक वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने, ‘हमास युद्ध अन्त्य गर्न सहमतिमा पुग्न र स्थलगत अवस्था अनुसार तुरुन्त कैदी आदानप्रदानको प्रक्रिया सुरु गर्न आतुर छ।’

इजरायली जेलमा रहेका प्यालेस्टिनीहरूको बदलामा गाजामा बन्दीहरूको रिहाइको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मार्गचित्रमा प्यालेस्टिनी लडाकू समूह (हमास)ले सकारात्मक प्रतिक्रिया दिएको छ।

वार्ताकारहरूले रिसोर्टहरूका लागि प्रसिद्ध इजिप्टको शहर शर्म अल–शेखमा वार्ता गर्ने कार्यक्रम रहेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा बन्धकहरूलाई केही दिनभित्रै रिहा गर्न सकिने आशा व्यक्त गरेका छन्।

नेतन्याहूले शनिबार वार्ताकारहरूलाई वार्ताका लागि ‘प्राविधिक विवरणलाई अन्तिम रूप दिन’ इजिप्ट जान निर्देशन दिएको बताएका छन् भने कायरोले ‘सबै इजरायली बन्दी र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानको जमिनी अवस्था र विवरण’ बारे वार्ताका लागि हमासको एक प्रतिनिधिमण्डललाई पनि आतिथ्य गर्ने पुष्टि गरे।

इजरायली सरकारका प्रवक्ताले इजरायली प्रतिनिधिमण्डल आइतबार साँझ इजिप्टका लागि प्रस्थान गर्नेर सोमबार वार्ता सुरु हुने बताए।

सोमबार नै हमास आक्रमणको दोस्रो वर्ष पूरा हुँदै छ। हमासलगायत प्यालेष्टिनी लडाकू समूहहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेर एक हजार २०० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए भने २५१ जनालाई बन्धक बनाई गाजातर्फ लगेका थिए। बदलामा इजरायलले हमासविरूद्धको आक्रमणको घोषणा गरेको थियो। इजरायली आक्रमणमा ६२ हजारभन्दा बढी प्यालेष्टिनीको मृत्यु भइसकेको छ।

प्रकाशित: १९ असोज २०८२ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast