ओलीमाथि प्रश्न- प्रधानमन्त्री छँदा ब्यारेकमा लुक्न पुग्नेले नेतृत्व कसरी गर्ला?

किरण पौडेल १९ असोज २०८२ १०:०९
44
SHARES
ओलीमाथि प्रश्न- प्रधानमन्त्री छँदा ब्यारेकमा लुक्न पुग्नेले नेतृत्व कसरी गर्ला? राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको सूर्यविनायकमा गत साता आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : रासस

काठमाडौँ- जेनजी आन्दोलनपछि सबैभन्दा बढी क्षति व्यहोरेको पार्टी हो नेकपा एमाले। एमालेले सत्ता गुमायो। अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट हेलिकप्टर चढेर सुरक्षित स्थानतर्फ भाग्नुपर्‍यो। इतिहासमै बहालवाला प्रधानमन्त्री राजीनामा दिएर भागेको त्यो पहिलो घटना हो।

भदौ २३ मा राजधानीमा ‘नरसंहार’ हुँदा ओली प्रधानमन्त्री थिए। उनकै निर्देशनमा प्रदर्शनकारी युवालाई ताकीताकी गोली प्रहार गरेको आरोप छ। घटनाको स्वतन्त्र छानबिन हुन बाँकी नै छ। यो एमाले अध्यक्ष ओलीको राजनीतिक जीवनकै सबैभन्दा ठूलो क्षति हो।

२४ गते एमाले मुख्यालयसहित देशभरका पार्टी कार्यालयमा आगजनी र तोडफोड भयो। दर्जनौँ नेताको घर र व्यक्तिगत सम्पत्ति जेनजी युवाले खरानी बनाए। एमालेका अधिकांश नेताहरू भदौ २४ पछि भूमिगत बने। पार्टी अध्यक्ष केपी शर्मासहित नेताहरू सेनाको सुरक्षामा रहनुपर्‍यो। ओली हाल भक्तपुरको गुन्डुमा बस्दै आएका छन्। ओलीबाहेक अन्य नेता पनि घर जलेका कारण कोही आफन्त त कोही डेरामा बसेका छन्।

ओलीमाथि त्यति ठूलो दामग लागे पनि उनमा पश्चात्ताप देखिँदैन न त जिम्मेवारीबोध। आन्दोलनका क्रममा मारिएका ७४ जनाप्रति उनले श्रद्धाञ्जली दिन चाहेका छैनन् भने सन्तान गुमाएका आमाबाप्रति समवेदना पनि प्रकट गरेका छैनन्। पार्टी बैठकमा उनको प्रस्तुति राजसी शैलीको हुने गरेको भनेर आलोचना भइरहेको छ।

ओलीलाई तत्काल राजनीतिक गतिविधिमा संलग्न हुन नैतिक संकट रहेको जानकारहरू बताउँछन्। त्यसैले उनी आफ्नो निवासमै नेताहरूलाई भेटेर पार्टीको भविष्यबारे जिज्ञासा राखिरहेका छन्। एमाले नेता महेश बस्नेतका अनुसार ओलीले एमालेका नेताहरूलाई पालैपालो बोलाएर राय लिइरहेका छन्। ‘ओलीज्यू अध्यक्ष छाड्ने मुडमा हुनुहुन्न। आफ्ना पक्षमा माहोल बनाउनका लागि नेताहरूलाई सम्झाइरनुभएको छ’, भेटमा सहभागी एक नेताले भने।

एमाले केही नेताहरू ओलीको क्रियाकलापबाट हैरान बनेका छन्। ११ वर्षदेखि एमालेमा हर्ताकर्ता बनेका ओलीलाई लिएर अब चुनावमा जान नसकिने उनीहरूको भनाइ छ। यसैले कारण पनि ओलीले बिदा लिनुपर्ने उनीहरूको दबाब छ। ओलीको विकल्प खोज्ने स्वर पार्टीमा सबल हुन सकेको छैन।

नेताहरूले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिएर पार्टी चलायमान बनाउन सुझाव दिएका थिए। तर ओलीले मानेनन्। पोखरेलले कार्यवाहक त पाएनन् नै एमालेले जेनजी आन्दोलनका विषयमा समीक्षा गर्नसमेत सकेको छैन। ‘दसैँअघि बैठक बस्नुपर्ने हो। दसैँपछि तोकिएको बैठक स्थगित भएको छ’, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन्। पार्टीको सचिवालय बैठक आइतबार र सोमबारका लागि तय गरिएको थियो। वर्षाका कारण शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए।

एमालेमा नेतृत्व सक्रिय नहुँदा पार्टी गतिविधि बढ्न नसकेको गुनासो बढ्न थालेको छ। अधिकांश नेता गुमनामजस्तै छ। महासचिव शंकर पोखरेल कहिलेकाहीँ सामाजिक सञ्जालमा झुल्कन्छन्। पार्टी संगठनप्रति उनको सक्रियता देखिएको छैन।

भदौ २४ पछि एमालेमा सबैभन्दा बढी महेश बस्नेत सक्रिय छन्। सामाजिक सञ्जालमा आफ्ना धारणा खरो रूपमा राख्दै आएका बस्नेत बेलाबेलामा विवादित पनि हुने गरेका छन्। ओलीको भनाइ उधृत गर्दै नेता बस्नेत भन्छन्, ‘हरेस खानु हुन्न। यो सबै विदेशीको षड्यन्त्र हो।’ नेता बस्नेत एमालेको प्रगति देख्न नसक्नेहरूले सरकार ढालेको बताउँछन्। जेनजीको नाममा घुसपैठ हुँदा सरकारी संरचना ध्वस्त पारिएको बुझाइ उनको छ।

ओलीले पनि नेताहरूसँगको छलफलमा लिम्पियाधुरा, लिपुलेकका एजेन्डा उठाएकै कारण सत्ताबाट बाहिरिनुपरेको बताउने गरेका छन्। ‘जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो–आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो’, ओलीले आफ्नो वक्तव्यमा भनेका छन्। यसैगरी ओलीले भदौ २३ गते आन्दोलनकारीमाथि प्रहरीले गोली नचलाएको भन्दै उम्किन खोजेका छन्। ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ’, ओलीले भनेका छन्।

प्रहरीका पूर्वअधिकारीहरू भने ओलीको कुरा मान्न तयार छैनन्। ‘प्रहरीलाई आदेश थियो/थिएन थाहा भएन। तर प्रहरीले गोली चलाएको देखिन्छ’, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्।

एमालेमा तत्काल नेतृत्व परिवर्तनको सम्भावना न्यून देखिएको छ। ओली तत्काल पद नछाड्ने मुडमा छन्। एमाले युवा नेतृ उषाकिरण तिम्सेना भने अब ओलीलाई एमालेबाट बिदा दिनुपर्ने बताउँछिन्। ‘म त ओली कमरेडले मात्र होइन, उहाँलाई हिजो बोक्ने नेताहरूले पनि बिदा लिनुपर्छ भन्छु’, तिम्सेना भन्छिन्, ‘हिजो प्रधानमन्त्री छँदा ब्यारेकमा पुग्नुभएको ओली फेरि अध्यक्ष हुनुहुन्छ भन्ने मलाई लाग्दैन।’

नेताहरूका अनुसार प्रधानमन्त्री हुँदा बालुवाटारबाट भाग्नुपरेको विषयमा ओलीमाथि प्रश्न उठेको छ। देश जलिरहँदा त्यसरी भाग्ने नेताबाट अब पार्टी चल्न नसक्ने उनीहरू बताउँछन्। हुन त ओलीले यसपटक मात्र होइन, फेरि अध्यक्ष बन्न पाउने पनि ढोका खोलेका छन्। एमालेको दोस्रो विधान सम्मेलनबाटै ओलीले ७० वर्षे उमेरहद हटाएर आफूमैत्री बनाएका छन्। यसैले पनि उनी मौन रहेर सबै समस्याको सामना गर्न लागेको नेताहरू सुनाउँछन्।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल ओली तत्काल पार्टी सुधार्ने पक्ष्मा रहेको देख्दैनन्। ‘ओलीजी एमालेलाई सही बाटोमा लैजानुपर्छ भन्नेमा हुनुहुन्न। उहाँ जसरी नि पदमा रही रहनुपर्छ भन्नेमा हुनुहुन्छ’, पोखरेल भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast