
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो शनिबार देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ। विभागका सूचना अधिकारी दीनकर कायस्थका अनुसार पर्सामा २८८ मिलिमिटर वर्षा भएको छ।
रौतहट र त्यसआससापका जिल्लामा अन्य क्षेत्रको तुलनामा निक्कै भारी वर्षा भइरहेको हो। बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ।
ललितपुरमा पनि भारी वर्षा भइरहेको छ। ललितपुरमा पछिल्लो २४ घण्टामा १५१ मिलिमिटर वर्षा भएको छ। काठमाडौँमा १३५ मिलिमिटर र भक्तपुरमा १११ मिलिमिटर वर्षा भएको छ। चितवनमा ११५ मिलिमिटर, महोत्तरीमा ११३ मिलिमिटर, धनुषामा ११२ मिलिमिटर, रामेछापमा १०० मिलिमिटर वर्षा भएको छ।
विभागको बाढी पूर्वानुमान महाशाखाले ललितपुर खोकनामा बागमती, सिन्धुलीस्थित कमला नदी, मकवानपुरको लालबकैया नदीले खतराको तह पार गरिसकेको जनाएको छ। रौतहट, बारा, पर्सा वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेपछि साइरनसमेत बजाइएको छ।