
काठमाडौँ- अविरल वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अस्थायी रुपमा खुलाइएको बीपी राजमार्गको डाइभर्सन बगाएको छ। बाढीले अस्थायी रुपमा निर्माण गरिएको डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रोशी खोलामा आएको बाढीले अस्थायी रुपमा बनाइएको बीपी राजमार्गको डाइभर्सन बगाएको कारण संघीय राजधानी काठमाडौँलाई पूर्वी तराई र पहाडी जिल्ला जोड्ने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको बताए।
उनले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए पनि जिल्लामा हालसम्म बाढीपहिरो र वर्षाका कारण कुनै मानवीय क्षति भने नभएको बताए।
रोशी खोलामा आएको बाढीका कारण रोशी गाउँपालिका–११ बुलढुंगा, डालाबेसीमा करिब ११० मिटर सडक कटान गरेको, पिप्लेमा करिब ५० मिटर, कटुन्जे घुमाउनेमा करिब २० मिटर, चौकीडाँडामा करिब ६० मिटर र बोक्सीकुनामा करिब दुई सय मिटर सडक कटान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।