
काठमाडौँ- सरकारले बाढीपहिरोबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि सबै संयन्त्र परिचालन भइरहेको जनाएको छ। साथै अनुगमन पनि प्रभावकारी रूपमा भइरहेको दाबी सरकारी निकायको छ।
शुक्रबारदेखि सुरु भएको अविरल वर्षाका कारण बागमती, मधेश र कोशी प्रदेशका पहाडी भेगमा पहिरो खस्ने तथा तराई क्षेत्रमा डुबानको समस्या तीव्र रूपमा बढ्ने देखिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यका सबै स्रोत प्रयोग गरिएको जानकारी दिइन्। उनले शनिबार भिडियो सन्देशमा भनिन्, ‘सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन्।’
प्रधानमन्त्री कार्कीले जोखिमकै कारण सरकारले आइतबार र सोमबार सरकारले देशभर सार्वजनिक बिदा दिएको बताइन्। साथै उनले प्रहरी र अन्य सरकारी निकायले जारी गरेका सूचनाअनुसार काम गर्न सबैलाई अनुरोध गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सम्पूर्ण कर्मचारीलाई नागरिकको सुरक्षाका लागि उच्च मनोबलका साथ सक्रिय हुन निर्देशन दिएकी छन्। यसैगरी उनले सबै नागरिकलाई काम गर्दा जोखिमको पूर्वअनुमान गर्न अनुरोध गरेकी छन्। ‘तपाईँहरूको सुरक्षा नै हाम्रो सर्वोपरि काम हो’, उनले भनिन्।
यसैगरी गृहमन्त्री ओमप्रकाश अर्यालले भारी वर्षापछिको विपद्का क्रममा हुने राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको बताएका छन्। विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी दिँदै उनले निरन्तर कामको अनुगमन र निगरानी भइरहेको बताएका हुन्।
असोज १७ गते बेलुकीदेखि निरन्तर परिरहेको वर्षाको मन्त्रालय र अन्तर्गतका निकायले पहिलेदेखि नै सूचना जारी गरेर सतर्क गराइएको उनले जानकारी दिए। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकायबीच समीक्षा बैठक गरी काम भइरहेको पनि मन्त्री अर्यालले जानकारी दिए।
मन्त्री अर्यालले वर्षासँगसँगै भएका क्षतिबारे सूचना आइरहेको जानकारी दिए। उनले भने, ‘मानवीय क्षति चै शून्य होस् भन्ने उद्देश्यका साथ काम गर्दै छौँ। कुनै पनि हालतमा कमीकमजोरी नहोस भनेर निर्देशन गरिएको छ।’
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायु) को प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ। वर्षाका कारण आएको पहिरोले देशभरका प्रमुख राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। पृथ्वीराजमार्गका कतिपय ठाउँमा सडक अवरुद्ध भएको छ। गाडी नचल्दा दसैँका बेला ओहोरदोहोर गर्ने मानिस प्रभावित भएका छन्।
कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जोखिमका कारण बीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति लोकपथ, सिद्धार्थ राजमार्ग, मुग्लिन–नारायणघाट सडकलगायतका प्रमुख राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ।
यसैगरी सरकारले २० गतेसम्म काठमाडौँबाट बाहिरिने र भित्रने सवारीसाधान आवातजावतमा रोक लगाएको छ। काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत तीन दिनका लागि बन्द गरिएको छ। राजमार्गमा पहिरो जान थालेपछि शनिबार बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा फर्किएका थिए।
अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन गरिएका छन्। खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ। विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको छ। विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलिमिटर वर्षा भएको छ। वीरगन्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको छ।
मकवानपुरमा १३४ र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दीनकर कायस्थले जानकारी दिए। काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रमा खतराको तह पार गरेकाले साइरन बजाइएको छ। विभागको बाढी पूर्वानुमान महाशाखाले काभ्रे–रोसी, मनोहरा–काठमाडौँ, बागमती–काठमाडौँ, लालबकैया–मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दो क्रममा रहेको जनाएको छ। बागमती प्रदेश र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी नाला सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ।