अलपत्र यात्रु व्यवस्थापन गर्न ७७ वटै सीडीओ कार्यालयलाई निर्देशन

हिमाल प्रेस १८ असोज २०८२ १७:३४
18
SHARES
अलपत्र यात्रु व्यवस्थापन गर्न ७७ वटै सीडीओ कार्यालयलाई निर्देशन पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा शनिबार दिउँसो रोकिएका सवारीसाधन। तस्बिर : रासस

काठमाडौँ- विभिन्न भागमा चट्याङसहित भारीदेखि अति भारी वर्षाका कारण सडकमा अलपत्र यात्रुको उद्धारमा सरकार र सम्बन्धित निकायहरू सक्रिय भएका छन्। गृह मन्त्रालयले देशभरका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधनको आवतजावतमा रोक लगाएको छ।

सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका केही सवारीसाधनमा यात्रु रोकिएका र उनीहरूले असुविधा भोगिरहेका छन् भन्ने जानकारी प्राप्त भएपछि मन्त्रालयले उद्धारका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अलपत्र यात्रुहरूको सुरक्षित व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी, सरकारी तथा गैरसरकारी संघसंस्था र निजी क्षेत्रसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

यात्रीहरूलाई सुरक्षित स्थानमा राख्दै खानपान, स्वास्थ्योपचार तथा अन्य आवश्यक सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ।

यसैबीच गृह मन्त्रालयले यसअघि निर्णय कार्यान्वयन र अनुगमन गर्न छुट्टै निर्देशन जारी गरेको छ। मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएको हो

यस्तो छ निर्देशन

१. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणवाट जारी भएको सूचना अनुसार लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारी साधनको आवतजावत मिति २०८२ असोज १८,१९ र २० गतेका दिन बन्द गर्ने/गराउने र सो अनुसार अनुगमन र निगरानी गर्ने।

२. राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यसम्म पुर्याउन सहजीकरण गर्ने र आवश्यकताअनुसार यात्रुहरुलाई स्थानीय तह तथा संघसंस्थाहरुसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्ने।

३. राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित रुपमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने। बाटोमा अलपत्र परेका गर्भवती महिलाको हकमा नजिकको स्वास्थ्य केन्द्रसम्म पु¥याउने व्यवस्था मिलाउने।

४. बाढीपहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने।

५. मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुहरुलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउने।

६. बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्ने।

७. प्रतिकुल मौसमको अवस्थालाई मध्यनजर गर्दै वर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु २४ सै घण्टा कार्यालयमा उपलब्ध हुने व्यवस्था मिलाउने।

८. उल्लेखित कार्यहरुको प्रगति विवरण विपद् तथा द्वन्द व्यवस्थापन महाशाखामा पठाउने।

प्रकाशित: १८ असोज २०८२ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast