
काठमाडौँ- कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा शनिबार दिउँसो वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले शनिबार जारी गरेको नियमित बुलेटिनमा उल्लेख छ, ‘कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।’
यसैगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
यसैबीच काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकामा सवारी आवतजावत आगामी तीन दिनका लागि पूर्ण रूपमा रोक लगाएको हो। ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यही असोज १८–२० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ।
प्राधिकरणले उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न अनुरोध गरेको छ।
प्राधिकरणले अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न अनुरोध गरेको छ।