
काठमाडौँ- काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकामा सवारी आवतजावत आगामी तीन दिनका लागि पूर्ण रूपमा रोक लगाएको हो। ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यही असोज १८–२० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ।
यसैगरी प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन आवतजावतमा पनि रोक लगाएको छ।
प्राधिकरणले उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न अनुरोध गरेको छ।
प्राधिकरणले अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न अनुरोध गरेको छ।