
काठमाडौँ- मौसमविद्हरूले देशभरमा वर्षाका कारण सडक यात्रामा उत्पन्न हुन सक्ने प्रतिकूल अवस्थाबारे सचेत गराइरहेका बेला नेपाली कांग्रेसले पनि सबैलाई संवेदनशील हुन अपिल गरेको छ।
कांग्रेसले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विपद्का कारण हुन सक्ने चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, सम्बद्ध निकाय, दलहरू, स्वयंसेवी एवं नागरिकमा अपिल गरेको हो।मौसमविद्हरूले असोज १८ गते शनिबार साँझदेखि भारी वर्षा गराउने प्रणाली सक्रिय हुने प्रक्षेपण गरेका छन्।
कांग्रेसले सम्भावित विपद् सामना गर्न जिम्मेवार ढंगले सबैलाई एकजुट हुन आह्वान गरेको छ। ‘नेपाली कांग्रेसको सबै तहका साथीहरूलाई आफू कार्यरत ठाउँमा प्राकृतिक विपदसँग जुध्न स्वयंसेवी भावना साथ कार्य गर्न अपिल गर्दछ’, कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पूर्वतयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता
१. दशैंको टीका लगाउन या लगाइसकेर गन्तब्यमा फर्किन लाखौं नागरिक यतिबेला सडक यात्रामा छन्। अत: मौसमको तीब्र प्रतिकुलता नजिकिएको सूचना प्रभावि रुपले सम्प्रेषण गरौँ।
२. सरकार र सम्बद्ध निकायले यस्तो बेला जारी गर्ने र गरेका सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षित रहौँ। अरूलाई सुरक्षित बनाउन सुसूचित गरौँ।
३. बाढीपहिरोको घोषित एवं सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थलतर्फ केही दिनका लागि सार्नुपर्ने आवश्यकता ठहर भएका ठाउँमा अविलम्ब स्थानीय तह र स्थानीय प्रशासनमार्फत आवश्यक बन्दोबस्तको पहलकदमी गरौँ।
४. पहाडी भूगोल र हाम्रा सडक मार्ग उसै पनि जोखिमपूर्ण छन्, अत: भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका सडक मार्ग निश्चित अवधिका लागि अनिवार्य बन्द गरौँ।
५. सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुन पुग्दा त्यसले यात्रु र स्थानीयवासिलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौँ/गराऔँ।
६. विपद्सँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावी ढंगको भूमिका तीनै तहका सरकारको समन्वयमा सम्पादन गरौँ।
७. तत्कालीन प्रतिकूल स्थिति दृष्टिगत गरेर जोखिमका सम्भावित क्षेत्रहरुमा अन्य सबै कार्य केही दिनका लागि थाती राखेर ऐक्यबद्ध भएर चुनौती सामना गरौँ।