
काठमाडौँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबार जारी पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा आयोजक राष्ट्र मलेसियाबाट जीतका लागि एक सय पाँच रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको हो । मलेसियाका लागि कप्तान विनिफ्रेड दुरासिङ्घमले २७ रनको योगदान गरिन् ।
ओपनर ब्याटर आइना हामिजाह हासिमले पनि टोलीको खातामा २६ रन थपिन् । चौथो नम्बरकी ब्याटर मस एलिसाले आक्रामक ब्याटिङ गर्दै केवल १८ बलमा २५ रन बनाइन् ।
नेपाली टोलीकी बलर सोमु विष्टले दुई र रुविना क्षेत्रीले एक विकेट लिए । आयोजक राष्ट्र मलेसियाले अतिरिक्त रूपमा पनि ११ रन पायो ।
नेपाली महिला टोलीले तीन महिनापछि घरेलु मैदानमा आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका यो शृंखला खेल्न लागेको हो ।
नेपाल र मलेसियाको महिला टोलीबीच यसअघि ११ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये सात खेलमा नेपालले मलेसियालाई हराएको छ । चार खेलमा भने मलेसियाले नेपाललाई हराएको छ ।
नेपाल र मलेसियाबीच सन् २०१९ को जनवरी १३ तारिखमा पहिलो खेल भएको थियो । त्यो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल र मलेसियाबीच अन्तिम भिडन्त सन् २०२४ को फेब्रुअरी १६ तारिखमा भएको थियो । उक्त खेलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको थियो ।
नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, राजमती ऐरी, सम्झना खडका, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी र कविता कुँवर रहेका छन् ।
मलेसिया भ्रमणका क्रममा नेपालले आयोजक राष्ट्रसँग पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नेछ ।
दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार खेलिने छ । चौथो खेल मंगलबार र पाँचौं खेल बुधबार हुनेछ ।