
काठमाडौँ- तालिवान सरकारले दुई दिनपछि अफगानिस्तानमा इन्टरनेट र फोन सेवाहरू पुनः बहाल गरेको छ। सेवाहरू सञ्चालनमा आएसँगै स्थानीयहरूले सडकमा निस्केर खुसी प्रकट गरेका छन्।
स्थानीय सञ्चारकर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सेवाहरू क्रमशः सञ्चालन भइरहेका छन्। इन्टरनेट अनुगमन समूह ‘नेटब्लक्स’ ले अहिले केवल आंशिक रूपमा सेवाहरू सञ्चालनमा आएको जनाएको छ।
तालिबान सरकार स्रोतले प्रधानमन्त्रीको आदेशमा इन्टरनेट पुनः सञ्चालन गरिएको जनाएको छ। ४८ घन्टासम्म इन्टरनेट सेवा बन्द हुँदा व्यापार, उडान र आपतकालीन सेवाहरू प्रभावित भएका थिए।
यसैबीच तालिबानको यो निर्णयले महिला र किशोरीहरू अझ बढी अलग–थलग पर्न सक्ने चिन्ता बढाएको छ।
सन् २०२१ मा पुनः सत्तामा फर्किएको तालिबान सरकारले महिला र किशोरीहरूका लागि कडा नियम लागू गर्दै आएको छ।