मिथिलामा आज ‘रावणवध’ उत्सव

हिमाल प्रेस १६ असोज २०८२ १०:१८
10
SHARES
मिथिलामा आज ‘रावणवध’ उत्सव फाइल तस्बिर

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ। जनकपुरधाम, महोत्तरीको मटिहानीलगायतका स्थानमा विजयादशमीका दिन रावणवध उत्सव मनाइने भएको हो।

श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावणवध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ।

वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। विजयादशमीको दिन साँझको बेला दशानन (दश टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा रहेको छ।

मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई सम्हार गरेको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको छ। यसैअनुसार मटिहानीमा वर्षौं वर्षदेखि यो उत्सव मनाउन थालिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए।

‘हामी विजयादशमीका दिन बिहान देवी पूजन विसर्जन गर्छौं, साँझ रावण वध उत्सव मनाउँछौँ,’ मण्डल भन्छन्, ‘विजया दशमीको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गरेको विश्वासमा यहाँ त्यसैबेला पारेर अजङ्को रावण आकृतिलाई तिरले ढालिन्छ।’

दशहारा (दसैँ) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको सम्हार गरेको प्रतीकात्मक रहेझैँ रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ।

सत्ययुगमा देवीले दैत्य सम्हार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ। खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन सम्हार गरेको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानी–७ निवासी प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलको कथन छ।

प्रकाशित: १६ असोज २०८२ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast