पालो कुर्दाकुर्दै किनारा लागे देउवा

किरण पौडेल १७ असोज २०८२ २०:३५
230
SHARES
पालो कुर्दाकुर्दै किनारा लागे देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- २०७९ को आमनिर्वाचनमा पहिलो बनेको पार्टी थियो नेपाली कांग्रेस। देशभरबाट प्रत्यक्षमा ५७ सिट र समानुपातिकतर्फ २७ लाख १५ हजार बढी मत ल्याएर कांग्रेसले प्रतिनिधिसभामा ८८ सिट ल्याएको थियो।

कांग्रेसको लोकप्रिय मतको जड थिए, सभापति शेरबहादुर देउवा। उनै देउवाले निर्वाचन गराएका थिए। त्यसअघि तत्कालीन नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गिजोलेको’ राजनीति सुधार्ने चुनौती देउवामाथि थियो। अन्ततः चुनावमा सफलता हासिल गराउँदै देउवाले कांग्रेसलाई प्रथम बनाए। यसपछि देउवा फेरि प्रधानमन्त्री बन्ने ढोका खुल्यो। त्यसका लागि पार्टीभित्र संसदीय दलको चुनाव जित्नुपथ्र्यो। उनीविरुद्ध महामन्त्री गगन थापा मैदानमा थिए।

देउवा अपराजित बने। ८८ सदस्यीय संसदीय दलमा थापा २५ मतमा खुम्चिँदा देउवाले ६४ मत पाए। देउवा पार्टीभित्र झनै दरिला देखिए। पार्टीभित्र झन्डै दुईतिहाई जनप्रतिनिधि उनको पक्षमा देखिए। पार्टीभित्र पुनः प्रधानमन्त्री हुने ‘म्यान्डेड’ जुटेपछि देउवा अन्य राजनीतिक दललाई मिलाउन थाले। देउवाको एउटै उद्देश्य थियो, प्रधानमन्त्रीको कुर्सी थमाइरहनु। तत्कालीन सत्ता साझेदार एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मान्न तयार भएनन्।

पहिला को प्रधानमन्त्री भन्ने विषयमा देउवा र प्रचण्डबीच विवाद बढ्यो। अन्ततः प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे। ओलीको आश्वासन पाएर प्रचण्ड प्रधानमन्त्री बन्ने बाटो खुल्यो। देउवा प्रधानमन्त्री बन्ने चाहना तत्कालका लागि बन्द भयो।

‘कांग्रेसले प्रधानमन्त्री बन्ने तत्परता नदेखाएकाले हामीले समझदारी बनाउन बाध्य भएका हौँ,’ प्रचण्ड-ओली समझदारीमा प्रत्यक्ष सहभागी एमाले महासचिव शंकर पोखरेलले सञ्चारकर्मीसँग भनेका थिए। २०७९ पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्दा देउवा प्रतिपक्षमा धकेलिए।

देउवाले प्रचण्डको मन जित्ने प्रयत्न जारी राखे। पहिलो पटक प्रचण्डलाई विश्वासको मत दिए र सत्तापक्षमै धकेलिए। तीन वर्षमा देउवा तीन पटक प्रतिपक्षी दलको नेता बने। देउवाको ध्यान सत्ताको जोडघटाउमा केन्द्रित भइरह्यो। देउवासँग समझदारी गरेर २०७९ असार ३० मा ओली प्रधानमन्त्री बने। देउवा-ओली समझदारीअनुसार आधाआधा कार्यकाल बाँडियो। चुनावी सरकारको नेतृत्व देउवाले गर्ने समझदारी बन्यो।

पहिलो र दोस्रो दलको सरकार अनि आलोपालो नेतृत्वले गर्दा देउवा प्रधानमन्त्री हुनेमा ढुक्क थिए। कांग्रेस नेताहरूका अनुसार ओलीसँग बिग्रिएको माओवादी-रास्वपा सम्बन्धले पनि देउवा सत्ताकै आसमा थिए।

संवैधानिक रूपमा पनि देउवा प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो। संविधानको धारा ७६ (२) अन्तर्गत बनेको ओली सरकार ढलेपछि धारा ७६ (३) अन्तर्गत ठूलो दलको नेता बन्ने बाटो खुल्थ्यो। यसले देउवाले प्रधानमन्त्रीको बाटो कुरेका थिए। ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका कारण देउवा सत्तामा पुग्नेमा ढुक्क थिए।

कांग्रेस नेताहरूका अनुसार देउवाले समझदारीअनुसार सरकारको नेतृत्व हात पार्न ओलीलाई बिच्क्याउन चाहेनन्। ओलीले कतिपय ठाउँमा कांग्रेसलाई ‘भाउ’ नदिँदा पनि देउवा मौन सहमति दिन्थे।
यसरी भाबी प्रधानमन्त्रीका रूपमा आफूलाई अघि सारेका देउवाको सम्भावना असार २३ पछि विकसित राजनीतिले ‘ब्रेक’ लगाइदिएको छ। जेनजी आन्दोलनका कारण संसद् विघटन भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा निर्दलीय सरकार बनेपछि दलहरू नै प्रतिकूल अवस्थामा पुगेका छन्।

राजनीतिक रेखालाई आफ्नो अनुकूल बनाउन सामथ्र्य भएका नेता मानिन्छन्, देउवा। राजनीतिक आरोहअवरोहसँग खेल्न सक्ने देउवा कम बोल्छन् तर वचनमा पक्का मानिन्छन्।

त्यसो त, देउवाको राजनीतिक जीवन उत्तरार्धतिर पुगेको छ। कांग्रेसको आगामी महाधिवेशनपछि उनले पार्टीको सक्रिय राजनीति छाड्ने बताएका थिए। देउवा निकट नेताहरूका अनुसार देउवाको राजनीतिक उद्देश्य आफू प्रधानमन्त्री बनेर पत्नी डा.आरजु राणालाई उत्तराधिकारी बनाउनु थियो।

राजनीतिक विश्लेषक डा.विष्णु दाहाल देउवाको यही योजनाका कारण आफ्नो जीवन संकटमा पुगेको बताउँछन्। ‘देउवाले जडसूत्रवादी राजनीति गरे। आरजुलाई अघि सार्न खोज्दा समस्या देखियो,’ दाहाल भन्छन्, ‘आरजुको ध्यान भ्रष्टाचारतिर केन्द्रित हुँदा देउवा बदनाम बने।’ दाहाल पनि देउवाले उत्तराधिकारी बनाउनकै लागि आरजुलाई ओली सरकारमा परराष्ट्रमन्त्री बनाएको बताउँछन्।

२४ असारमा जेनजीको नेतृत्वमा भएको परिवर्तनले देउवा दम्पतीको राजनीतिक जीवन संकटमा मात्र परेन व्यक्तिगत रूपमा समेत क्षति पुग्यो। जेनजी युवाले असार २४ मा उनीहरूको काठमाडौँको बूढानीलकण्ठमा रहेको बंगला खरानी बनाइदिए।

आफ्नै निवासमा रहेका देउवा दम्पतीमाथि युवाको आक्रमणमा परे। युवाहरूले अश्लिन गाली गर्दै देउवा-आरजुमाथि मुक्का प्रहार गरेका थिए। देउवा दम्पती अस्पतालमा उपचार गराइरहेका छन्।
देउवा निकट स्रोतका अनुसार उपचारपछि देउवा डेरामा बस्नेछन्। आलिसान बंगलाबाट देउवा डेरामा पुग्ने निश्चित छ। राजनीतिचाहिँ उनको भूमिका कस्तो देखिन्छ, केही समय पर्खनैपर्छ।

‘अब फेरि (देउवा-आरजु) राजनीतिक जीवन सुध्रिन्छ भन्ने मलाई लाग्दैन। देउवा प्रधानमन्त्री सम्भावना सकिएझैँ लाग्छ’, विश्लेषक दाहाल भन्छन्, ‘महाभारतका धृतराष्ट्रको पुत्र मोहजस्तै देउवाले पत्नी मोह देखियो। अन्ततः दुवैको राजनीति डिलमा पुग्यो।’

सुशीला कार्की प्रधानमन्त्री बनेपछि राजनीति नयाँ ध्रुवमा डोहोरिएको छ। यही परिस्थिति बनेमा फागुनमा नयाँ निर्वाचन हुनेछ। ‘फेरि संसदीय चुनाव नै हुने हो। अब कांग्रेस-एमाले आउँछन् जस्तो लाग्दैन,’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘अहिले पनि सबैभन्दा ठूलो शक्ति जेनजी हो। जेनजीले भनेअनुसार नै भएको छ।’

आगामी निर्वाचनमा कांग्रेस ठूलो बनेमा देउवाको सम्भावना देखिने विश्लेषक दाहालको बुझाइ छ। फेरि कांग्रेस अघि बढ्नेमा दाहाल आशावादी छैनन्। ‘कांग्रेस भ्रष्ट बनिसक्यो। अब अघि बढ्दैन। देउवा मात्र होइन महामन्त्री गगन थापाहरू समेत उस्तै बनिसके,’ दाहाल भन्छन्।

आफ्नै हठले दु:खद राजनीतिक बाटोमा देउवा

संकटमा कांग्रेस : देउवाको अकर्मण्यता र गगन-विश्वप्रकाशको लाचारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast