
काठमाडौँ- गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनले मुलुकलाई एउटा गहिरो आघात दिएको छ। आन्दोलनपछि उत्पन्न भय र असुरक्षाले यो वर्षको दसैँ विगतका वर्षझैँ हर्षोल्लासपूर्ण बन्न सकेको छैन। मुलुकका आमनागरिकदेखि लिएर राजनीतिक नेतृत्वसम्म सबैजनाले असमञ्जस र त्रासबीच दिन काटिरहेका छन्।
आन्दोलनकारीका माग अझै सम्बोधन नभएकाले संकटको घडी टरेको छैन भन्ने अनुभूति जनतामाझ अझै छ। आन्दोलनका दिनमा सिंहदरबार, शीतल निवास, संसद् भवनजस्ता सार्वजनिक संरचनामाथि मात्र नभई नेताहरूका निजी आवाससम्म आन्दोलनकारीको आक्रोश पाेखियाे।
यस्तै क्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का निवर्तमान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवास पनि आक्रमणकारीको निसाना बन्याे। उनीहरूको आगजनीबाट निवाससँगै दुई हजारभन्दा बढी महत्त्वपूर्ण पुस्तकहरू खरानी भए।
यी सबै विषम परिस्थितिबीच पनि डा. भट्टराई यस वर्षको दसैँ निकै साधारण तरिकाले मनाइरहेका छन्। उनका ९६ वर्षीया बाकै हातबाट टीका लगाउनु उनको जीवनको सबैभन्दा ठूलो सौभाग्य बनेको छ। बासँग बिताउने क्षणलाई उनी आशीर्वाद मात्र होइन, जीवनको गहिरो अनुभूतिका रूपमा लिन्छन्।
गत वर्ष डा.भट्टराई गाेरखा पालुङटार नगरपालिका-१ बेलबासस्थित आफ्नै पुर्ख्यौली घरमा परिवार र छिमेकीहरूसँग दसैँको रमझम बाँडेका थिए। घरआँगनमा भेला भएका नातागोता, गाउँले र साथीभाइसँगको भेटघाटले उनलाई पुरानो गाउँको न्यानोपन सम्झाइदिएको थियो। यसपालि पनि त्यही न्यानोपनको खोजी गर्दै गोरखा जाने योजना बनाए पनि देशको बदलिएको परिस्थितिले त्यो योजना अधुरै रह्यो।
‘गोरखा जाने योजना थियो। तर बदलिएको विषम परिस्थितिका कारण सम्भव भएन। यसपटक काठमाडौँमा सामान्य प्रकारले दसैँ मनाउँछु। सदाझैँ बाको हातबाट टीका लगाउनेछु। पुस्तक पढ्ने, साथीभाइ र परिवारजनसँग बस्ने कार्य नै बढी हुनेछ,’ डा.भट्टराईले हिमालप्रेससँग भने।
दसैँलाई धार्मिकभन्दा बढी सांस्कृतिक पर्वका रूपमा लिने डा. भट्टराईले पूजापाठ गर्दैनन्। उनका बा धार्मिक विधिअनुसार पूजा गर्छन्। आमा बितिसकेकी हुनाले दसैँमा आमाको माया र स्पर्श नपाइरहेको पीडा हृदयमा बोकेर बसेका छन् डा.भट्टराई।
पूजापाठ नगर्ने भन्दैमा आफू चाडपर्व, संस्कृति वा परम्पराविरोधी आफू नभएको डा.भट्टराईले स्पष्ट पारे। बरु उनका लागि दसैँ भन्ने शब्द भेटघाट, संस्कृतिको निरन्तरता र सामुदायिक न्यानोपनसँग जोडिएको छ।
‘मलाई दसैँ धार्मिक कर्मकाण्डभन्दा बढी सांस्कृतिक पर्व लाग्छ। भेटघाट, रमाइलो र आत्मीयताको समय हो दसैँ। यही अर्थमा मैले यसलाई मनाउँदै आएको छु,’ उनको भनाइ छ। यसरी विषम परिस्थितिबीच परिवारसँगको साथ, बासँगको आत्मीयता र किताबसँगको सम्बन्धमार्फत डा.भट्टराईले दसैँलाई अर्थपूर्ण बनाइरहेका छन्।