सोनामाई मन्दिरमा ‘भूत मेला’ को रौनक

हिमाल प्रेस १४ असोज २०८२ १२:४२ | Tuesday, September 30, 2025
सोनामाई मन्दिरमा ‘भूत मेला’ को रौनक फाइल तस्बिर

महोत्तरी– भूत मेलाका लागि प्रसिद्ध महोत्तरीको सोनामाई मन्दिरमा अहिले भूत मेलाको रौनक छाएको छ। कहिले दसैँ आउला र कहिले भूत मेला सुरु हुने प्रतीक्षामा बसेका महोत्तरीलगायत सम्पूर्ण मिथिला क्षेत्रका भूत मेलाप्रेमी अहिले कति बेला साँझ पर्ला र कति बेला भूत मेला सुरु होला भन्दै उत्साहित भएका देखिन्छन्।

परम्परागत रुपमा अनादी कालदेखि नै बडादसैँका बेला भूत मेलाका लागि प्रख्यात जिल्लाको औरही नगरपालिकामा–७ मा अवस्थित सोनामाई शक्तिपीठमा षष्ठी तिथिदेखि नै सुरु भएको भूत मेलाले अहिले सबैलाई आकर्षित पारेको छ।

परापूर्वकालदेखि नै भूत मेलाका लागि प्रख्यात रहेको सोनामाई मन्दिरमा हरेक वर्ष बडादसैँको षष्ठी तिथिदेखि लाग्ने भूतमेलामा दैनिक हजारौँ दर्शनार्थी आएर मेलाको दर्शन गर्नाका साथै सहभागिता जनाउने गरेको सोनामाईका पुजारी कामेश्वर झाले बताए।

भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको अर्का पुजारी रमेश झा बताउँछन्।

वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै को–कसबाट सताइएकोबारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमा क्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै पर्दै, रुँदै, हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन्।

दरबारमा पुगेका पीडितहरु माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको माताका अर्का पुजारी झगरु झाले बताए।

षष्ठीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, हेटौँडा, धरान, विराटगर र काठमाडौँदेखि तथा भारतका सीतामढी, मधुवनी र पटना सहरसम्मका हजारौँ पीडित महिला तथा पुरुष पुग्ने गरेको पुजारी कामेश्वरले बताए।

प्रकाशित: १४ असोज २०८२ १२:४२ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast