मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्यांग्रा निकासी

हिमाल प्रेस १० असोज २०८२ १३:२९ | Friday, September 26, 2025
मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्यांग्रा निकासी फाइल तस्बिर

मुस्ताङ- यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्यांग्रा निकासी गरिएको छ। यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी-जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्यांग्रा निकासी गरिएको हो।

केन्द्रका पशु चिकित्सक डा.लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्यांग्रा र रमा (च्यालु) को औसत अनुमान गर्दा रु ३५ करोड बढीको च्यांग्रा निकासी भएको हो।

यसवर्ष निकासी भएका भेडाच्यांग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्यांग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उनले बताए। यसमा मुस्ताङको हिस्सा अनुमानित रु २० करोड रहेको छ।

जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्यांग्राको मूल्य रु ३५ हजार, भेडाको रु २८ हजार र रमा (च्लालु) च्यांग्राको मूल्य रु १२ हजार रहेको जनाइएको छ।

यहाँबाट जिल्ला बाहिर निकासी गरिएका भेडाच्यांग्रा अझै बढी हुनसक्ने स्थानीय जानकारहरूको भनाइ छ। विज्ञ केन्द्रले पशु निरोगिताको परीक्षण गर्दा च्यांग्रा धनीले एकिन संख्या नबताउने भएकाले यो संख्या बढी हुनसक्ने उनीहरूको तर्क छ।

प्रकाशित: १० असोज २०८२ १३:२९ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast