अपहरणपछि हत्या, आठ जना प्रहरी नियन्त्रणमा

हिमाल प्रेस ७ असोज २०८२ १९:३८ | Tuesday, September 23, 2025
अपहरणपछि हत्या, आठ जना प्रहरी नियन्त्रणमा

सिरहा- सिरहाको गोलबजार नगरपालिका-१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशंका गरिएको छ।

‘हाल अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने, ‘दोषीलाई चाँडै कानुनी दायरामा ल्याइनेछ। घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको छ।’

उनका अनुसार आज (मंगलबार) बिहान अभिषेक महतोको शव हातखुट्टा बाँधिएको अवस्थामा घरदेखि करिब एक सय मिटरपूर्व आँपको बगैँचामा फेला परेको थियो।

परिवारका अनुसार अभिषेक आइतबार राति करिब ८ बजेबाट बेपत्ता भएका थिए। रातभरि खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा फिरौती मागिएको म्यासेज आएको थियो। त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।

आज बिहान शव फेला परेपछि परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ७ असोज २०८२ १९:३८ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast