माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा समूहगत निष्कर्ष प्रस्तुत गरिँदै

हिमाल प्रेस १० असोज २०८२ १२:४३ | Friday, September 26, 2025
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा समूहगत निष्कर्ष प्रस्तुत गरिँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठकको दोस्रो दिन शुक्रबारबाट समूहगत निष्कर्ष प्रस्तुत गर्ने क्रम सुरु भएको छ। प्रज्ञा भवन, कमलादीमा जारी बैठकमा उपत्यका विशेष प्रदेशबाट समूहगत प्रस्तुति सुरु भएको हो।

बैठकको समय व्यवस्थापनलाई प्रभावकारी बनाउन एक प्रदेशको निष्कर्षपछि एक जना पदाधिकारीको टिप्पणी हुने, त्यसपछि अर्को प्रदेशको निष्कर्ष प्रस्तुत गरिने तालिका तय गरिएको छ।

कोशी प्रदेशतर्फबाट उपमहासचिव हरिबोल गजुरेलले बोल्दै वर्तमान नेतृत्वलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे। यतिबेला लुम्बिनी प्रदेशको निष्कर्ष प्रस्तुत भइरहेको छ।

बिहीबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले आआफ्ना दस्तावेज पेस गरेका थिए।

अध्यक्ष प्रचण्डले बैठकमा केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्ने र आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।

तर, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुने सुझाव दिएका छन्। साथै, नेतृत्व हस्तान्तरणको प्रस्ताव राख्दै कार्यबाहक अध्यक्षको जिम्मेवारी आफूले पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

त्यस्तै, उपमहासचिव जनार्दन शर्माले वर्तमान पदाधिकारीहरूको संख्यामा कटौती गर्दै नयाँ टिम ल्याउनुपर्ने र पुराना पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

तीनै प्रस्तावमाथि समूहगत छलफल जारी छ। समूहगत निष्कर्षपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र अन्ततः प्रतिवेदन पारित गर्दै बैठक टुंग्याउने तयारी छ।

प्रकाशित: १० असोज २०८२ १२:४३ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast