घरघरमा भित्र्याइयो फूलपाती

हिमाल प्रेस १३ असोज २०८२ १८:५३ | Monday, September 29, 2025
घरघरमा भित्र्याइयो फूलपाती दसैंँको सातौँ दिन सोमबार तनहुँको व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजाँदै नेपाली सेना । तस्बिर : रासस

काठमाडौँ– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ। आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फूलपातीकै दिनदेखि बढ्ने गर्छ ।

यसै अवसरमा काठमाडौँको हनुमानढोकाको दसैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दसैँघरमा भित्र्याइएको हो।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन छ।

गोरखा दरबारको दसैँघरबाट सतिपीपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन छ।

प्रकाशित: १३ असोज २०८२ १८:५३ | Monday, September 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast