सुत्केरी बिदापछि काज मिलाएर अनमी अन्तै गइन्, भीमदत्त नगरको क्लिनिकमा १७ महिनादेखि सेवा ठप्प

हिमाल प्रेस १० असोज २०८२ १६:५१ | Friday, September 26, 2025
सुत्केरी बिदापछि काज मिलाएर अनमी अन्तै गइन्, भीमदत्त नगरको क्लिनिकमा १७ महिनादेखि सेवा ठप्प

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-९ टुँडिखेलस्थित गाउँघर क्लिनिकमा स्वाथ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। स्वास्थ्यकर्मी नहुँदा उक्त क्लिनिक एक जना अहेबको भरमा चलेको छ। उक्त संस्थामा कार्यरत अनमी ममता महता डेढवर्ष अघि सुत्केरी बिदामा गएपछि पुनः हाजिर भएकी छैनन्। सुत्केरी बिदामा गएकी अनमी काज मिलाएर अन्तै गएपछि सेवा प्रवाहमा निकै सास्ती खेप्नुपरेको क्लिनिकमा कार्यरत अहेब नारायण बोहराले जानकारी दिए।

‘दैनिक ओपिडी सेवा त मैले दिने गरेको छु नै, गर्भवती बालबालिकाको खोपलगायतका सेवा दिन समस्या भएको छ’, अहेब बोहराले भने,‘बालबालिकाको नियमित खोपका लागि अर्को स्वास्थ्य संस्थाबाट अनमी बोलाएर सेवा दिनुपरेको छ।’ उनका अनुसार १७ महिनादेखि उक्त क्लिनिकमा अनमी नहुँदा बालबालिकाको नियमित खोप, भिटामिन र गर्भवतीलगायतका सेवा प्रवाहमा समस्या हुने गरेको छ।

‘अहिले महिनामा एक पटक ब्रह्मदेवस्थित स्वास्थ्य संस्थाबाट अनमी आएर यहाँ खोप सेवा दिइरहनुभएको छ’, बोहराले भने, ‘त्यहाँबाट स्वास्थ्यकर्मी दुई घण्टा पैदल आउनुपर्छ।’ अहिले बालबालिकाको नियमित खोपका लागि ब्रह्मदेव स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी महिनामा एक पटक जाने गरेका छन्। यताको समस्याका कारण दुई घण्टा पैदल गएर बालबालिकाको खोप लगाउनु परेको स्वास्थ्यकर्मी (अनमी) देवकी अवस्थी बताउँछिन्।

‘मेरो डिउटी ब्रह्मदेव स्वास्थ्य चौकीमा हो, यहाँ अर्को कर्मचारी नहुँदा बालबालिकाको नियमित खोप छुटाउन नहुने भएकाले पालो मिलाएर म आउने गर्छु’, अवस्थीले भनिन्, ‘स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि त्यहाँ बिरामी आयो भने अर्को समस्या हुन्छ।’ उनले खोप लगाउन यातायातको सुविधा नहुँदा दुई घण्टा पैदल जानुपर्ने बाध्यता रहेको दुखेको गरिन्।

पालिकाले अर्को कर्मचारी नखटाउँदा बालबालिको खोप र गर्भवती जाँचमा निकै समस्या हुने गरेको छ। नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले उक्त स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सोही ठाउँमा काममा फर्किन पत्र पठाइसकेको बताए। ‘उक्त स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा निकै समस्या भएको छ, त्यहाँका कर्मचारीलाई हाजिर हुन हामीले पत्र पठाइसकेका छौँ’, उनले भने, ‘केही दिनमै स्वास्थ्यकर्मी त्यहाँ हाजिर भएर सेवा दिनुहुन्छ।’ रासस

प्रकाशित: १० असोज २०८२ १६:५१ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast