जनकपुरको राजदेवी मन्दिरमा लाखौँ श्रद्धालुले गरे पूजाअर्चना, बोकाबलि आजै

हिमाल प्रेस १४ असोज २०८२ ११:४६
12
SHARES
जनकपुरको राजदेवी मन्दिरमा लाखौँ श्रद्धालुले गरे पूजाअर्चना, बोकाबलि आजै फाइल तस्बिर

काठमाडौँ- बडादसैँको अष्टमीका दिन जनकपुरधामको राजदेवी मन्दिरमा पूजाआजा गर्ने एवं प्रसाद चढाउने श्रद्धालुहरूको ठूलो संख्यामा भिड देखिएको छ। राजदेवी मन्दिरमा प्रसाद चढाउन गएराति १२ बजेदेखि श्रद्धालुहरू लाइन बसेका हुन्।

सहरको बीचमै अवस्थित राजदेवी मन्दिरमा सप्तमी र अष्टमी तिथिका दिन ठूलो संख्यामा श्रद्धालुहरू प्रसाद चढाउन पुग्ने गर्दछन्।

महाष्टमीका दिन हरेक वर्ष जस्तै ठूलो संख्यामा श्रद्धालुहरूको भिड रहेको पूजा व्यवस्थापन गर्दै आएको महावीर युवा कमिटीका अध्यक्ष विनोद चौधरीले बताए। उनका अनुसार राजदेवी मन्दिरमा प्रसाद चढाउने तथा पूजाआजा गर्ने कार्य मध्यराति १२ बजेदेखि सुरू भएको हो।

राजा जनकको कुलदेवतासमेत भनिएकी राजदेवीमाताको पूजाअर्चना र प्रसाद चढाउनेको हरेक वर्ष ठूलो संख्यामा भिड हुने गरेको छ। मन्दिरमा हुने भिडभाड व्यवस्थापन गर्न उल्लेख्य संख्यामा स्वयंसेवकहरू परिचालन गरिएको महावीर युवा कमिटीले जनाएको छ।

पूर्वअध्यक्ष चौधरीले मन्दिरमा मंगलबार अपराह्न तीन बजेसम्म प्रसाद चढाउने र पूजाआजा कार्यक्रम सञ्चालन हुने जानकारी दिए। उनका अनुसार महाष्टमीका दिनमात्रै राजदेवी मन्दिरमा दस लाखभन्दा बढी श्रद्धालुहरूले पूजाआजा गर्ने गरेका छन्। त्यस्तै यो दिन जनकपुरमा सयौँ क्विन्टल लड्डु बिक्री हुने गरेको बताइन्छ।

राजदेवी मन्दिरमा अष्टमीका दिन प्रसाद चढाउ जनकपुरधामसहित नेपाल तथथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गरेका छन्। महाष्टमीका दिन राजदेवी मन्दिरमा प्रसाद चढाउने र पूजाआजा गर्ने श्रद्धालुहरूको संख्या हरेक वर्ष बढ्दै गएको महावीर युवा कमिटीको भनाइ छ।

आजै बोकाबली

राजदेवी मन्दिरमा आजै राति बोकाबलि हुने भएको छ। यहाँ हरेक वर्ष अष्टमी तिथिको राति बोकाबलि हुने गरेको छ।

राजदेवी मन्दिरमा वर्षमा एकपटक अष्टमीको दिनमात्रै बोकाबलि हुने गरेको छ। राति हुने बोकाबलिका लागि श्रद्धालुहरू दिउँसै लाइनमा बस्ने गरेका छन्।

भाकल गरेका साथै आस्थाका आधारमा समेत महाष्टमीको राति राजदेवी मन्दिरमा श्रद्धालुहरू बोकालि गर्ने गरेका छन्। बोकाबलिका लागि नेपालको विभिन्न स्थानका साथै भारतबाट समेत श्रद्धालुहरू पुग्ने गरेका छन्।

बोकाबलिका लागि मन्दिर परिसरमै रहेको गुठी संस्थान कार्यालयले प्रतिबोका तीन सय रुपैयाँको दरले शुल्क निर्धारण गरेको छ। गत वर्ष पनि यो शुक्ल तीन सय रुपैयाँ नै रहेको थियो।

बोकाबलिबाट उठ्ने पैसा गुठी संस्थान तथा पूजा संयोजन गरिरहेका महावीर युवा कमिटी र राम युवा कमिटीबीच भागबन्डा हुने गरेको छ।
पूजा व्यवस्थापन तथा सरसजावटका लागि राजदेवी मन्दिरमा ४५ लाखभन्दा बढी खर्च हुने अनुमान गरेको पूर्वअध्यक्ष चौधरीले बताए। बोकाबलि र स्थानीय व्यवसायी तथा उपमहानगरपालिकाबाट प्राप्त भएको चन्दा सहयोगबाट खर्च व्यवस्थापन गरिने उनले जानकारी दिए।

चौधरीले यसपालि गत वर्षको भन्दा बढी बोकाबलि हुने अनुमान गरिएको बताए। गत वर्ष राजदेवी मन्दिरमा १५ हजार ४ बोकाबलि भएको थियो।

बोकाबलिमा अध्याधिक भिडभाड हुने गरेकाले व्यवस्थापनका लागि जनकपुरधामका सबै युवा क्लबहरूको सहयोग लिने गरिएको छ। बोकाबलिलाई व्यवस्थित रूपमा सम्पन्न गर्न एक हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको छ।

पूर्वअध्यक्ष चौधरीले साँझ साढे सातबजेदेखि बोकाबलि सुरू हुने तयारी रहेको बताए। गत वर्ष राति ८ बजेर ३८ मिनेटमा सुरू भएको बोकाबलि शुक्रबार बिहान ४ बजेर ५ मिनेटसम्म चलेको थियो। श्रद्धालुहरूको संख्या बढेपछि बोकाबलिलाई समयमै व्यवस्थापन गर्न मन्दिर परिसरभित्रै चार ठाउँमा बोकाबलिको व्यवस्था गरिएको थियो। यसपालि पनि चार ठाउँमा बोकाबलिको व्यवस्था गरिएको महावीर युवा कमिटीले जनाएको छ।

प्रकाशित: १४ असोज २०८२ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast