![एमालेमा ओलीकरण हुँदा धेरै मूल्य चुकायौँ : उषाकिरण तिम्सेना [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/09/ushakiran_timsena.jpg)
जेनजी आन्दोलनपछि नेपाली राजनीतिक समीकरण फेरिएको छ। पालैपालो सत्तामा राज गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सत्ताबाहिर पुगेका छन्। प्रतिनिधिसभा विघटन भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ। यथास्थितिवाद र नेतृत्वमा लचकता नदेखिँदा दलहरू सच्चिने भन्दा पनि सक्किने बाटोमा लागेको टिप्पणी भइरहेको छ। त्यसो त पुराना दललाई रूपान्तरण गर्नुपर्छ भन्नेहरू पनि छन्। तर नेतृत्व उनीहरूको बोली सुन्न चाहँदैन। पुस्तान्तरण र रूपान्तरणको आवाज उठाउने मध्येकी एक नेत्री हुन् एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेना। उनी यति बेला पार्टीको साख फर्काउने कसरतमा छिन्। पार्टी पुरानो पुस्ताले बिदा लिनुपर्ने अडान उनको छ। उनै तिम्सेनासँग पार्टी र समग्र राजनीतिक परिस्थितिका विषयमा गरिएको कुराकानी :
जेनजी आन्दोलनले राजनीतिक परिवर्तन गर्यो। के यो पत्यारलाग्दो विषय थियो?
मलाई जेनजीको आन्दोलनले गौरव अनुभव भइरहेको छ। किनभने मलाई सधैँ लाग्थ्यो, नेपालमा भ्रष्टाचारविरुद्धको आन्दोलन भए हुन्थ्यो। मलाई के थाहा छ भने भ्रष्टाचार हुने समाज कहिल्यै न्यायतिर फर्किँदैन। यहाँ हिजोको आज, आजको भोलि धनी हुने प्रवृत्ति छ। सीमित मानिसको धनी हुने लालचामा मुलुकको आर्थिक ब्यारोमिटर कमजोर बनाइएको छ। समग्रमा भ्रष्टाचारले देशको सर्वांगीण विकासमा धेरै हानि पुर्याएको छ। समाजमा भ्रष्टाचार छ, यसका विरुद्ध लाग्नुपर्छ भन्ने किशोर बुझाइ अघि बढ्यो। यही कारण जेनजी पुस्ता सडकमा गयो। यही एजेन्डालाई कतिपयले गलत प्रयोग पनि गरेका गरेका छन्।
जेनजी आन्दोलन जसरी उठेको थियो, त्यसको बैठान सही भएन जस्तो लाग्दैन तपाईँलाई?
म विश्लेषक होइन, म राजनीतिक कार्यकर्ता हुँ। राजनीतिक हिसाबले भन्दा भ्रष्टाचारविरुद्ध बुझ्ने, समाधान निकाल्ने कुरा त दलमा लामो समय व्यतित गरिसकेका म जस्ता कार्यकर्तालाई छर्लंग छ नि। मभन्दा माथिका कमरेडहरूले सरकारमा जाँदा के गरिरहेका छन् भन्ने त थाहा पाइएकै छ।
भ्रष्टाचार नियन्त्रणको मुद्दा राजनीतिक दलको हुनुपथ्र्यो। जस्तो- म भ्रष्टाचारविरोधी अभियन्ता हुँ। मजस्ता कार्यकर्तालाई सुशासनका पक्षमा लाग भन्नुपर्थ्यो नि। तर राजनीतिक दल अहिले त्यस्ता छैनन्। हाम्रो त अखिलमा आएका कार्यकर्ता पनि दबाब समूह होइन, भजनमण्डलीमा रूपान्तरण भइरहेको छ। जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने विद्यार्थी संगठन नेताकै जयजयकारमा अडिएको छ। जस्तो- भीसी नियुक्ति गर्दा, त्रिविका बारेमा अखिलको एजेन्डा मान्नुपर्छ भन्ने एमालेलाई लाग्नुपथ्र्यो नि। तर जसले बढी जयजयकार गर्यो, पार्टीले त्यसैलाई अखिलको नेतृत्व दिएका छन्।
दलहरूको अकर्मण्यता, गलत अभ्यास र गैरराजनीतिकरण बन्दा अहिलेको अवस्था आयो। गणतन्त्र स्थापनापछि दलहरू जसरी चले, त्यो त गलत थियो नि त। सामान्य मानिसले नेतालाई काट्नुपर्छ, लखेट्नुपर्छ भनेको सुनिन्थ्यो चिया पसलमा। उनीहरूले वास्तविक भनेका रहेछन्। हामी त यसविरुद्ध थियाँै। हामीले नागरिक स्तरबाट अघि बढ्नुपर्छ भन्थ्यौँ। आक्रोशको भीडले त कानुन नचिन्दो रहेछ।
तपाईँमाथि नेतृत्व किन अनुदार भइरहेको छ? जिम्मेवार नेताहरूबाट साइबर बुलिङ र ह्यारेस्मेन्ट भयो भन्नुभएको छ, के हो खुलाउन मिल्छ?
म नेताहरूले नचाहेको केन्द्रीय सदस्य हुँ। मैले यो पार्टीको सदस्यता लिएको २५ वर्ष भयो। केन्द्रीय सदस्य पद पार्टीका विषयमा बोल्न नमिल्ने ठाउँ रहेछ। अहिले त पार्टीमा यो भएन, त्यो भएन भन्दा समेत साइबर बुलिङ र ह्यारेस्मेन्ट खेप्नुपरेको छ।
कसले मलाई ह्यारेस्मेन्ट गरेको छ, अहिले भन्दिनँ। पछि उहाँहरूलाई कारबाही हुनुपर्छ। मैले भनेको चाहिँ के भने हाम्रा पार्टीहरू मृत बने। पार्टी संगठन जनताका विषयमा बोल्ने र निष्कर्ष निकाल्ने ठाउँ होइन, यो त नेताहरूको अवैधानिक कामलाई वैधानिक बनाउने थलो बनेको छ। यस्तो प्रवृत्ति एमालेमा मात्र होइन, माओवादी र कांग्रेसमा पनि छ। नेकपा विघटन, चुनावी गठबन्धनजस्ता गलत अभ्यासबाट हामीले बोक्ने आदर्श र जनताका विश्वास सबै कुराको धज्जी उडाउने काम भएको हो।
जेनजीले त भनेकै थिए नि, हामी प्रणालीविरुद्ध छैनौँ- हामी भ्रष्टाचारविरुद्ध लाग्न चाहन्छौँ। नेताहरूको सम्पत्ति छानबिन गरौँ भन्ने नारा लिएर आएका थिए उनीहरू। जुन नारा त एकदमै राम्रो छ। हामी जुन बेला अहिलेका जेनजीजस्तै थियौँ, त्यो बेला हामी पनि गणतन्त्र फ्याल्ने, राजतन्त्र ल्याउने कदममा थियौँ। प्रत्येक युगको आफ्नै चेतना हुन्छ। हामीमा गणतन्त्र ल्याउने मात्र चेतना थियो भने अहिले भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्छ भन्ने चेतना आयो।
के जेनजीले उठाएका एजेन्डा सही छन् त?
जेनजीले उठाएका एजेन्डा राम्रा छन् तर देशभर जे कामकारबाहीमा जेनजी मात्र थिएनन्। भदौ २३ कै कुरा गर्ने हो भने राम्रा एजेन्डा लिएर युवा सडकमा आए तर कतिपयलाई राज्यले मारिदियो। त्यसको प्रतिक्रिया स्वरूप केही शक्तिूले संरचनाहरूमा आगजनी गरे। यो त राजनीतिक दल र सरकारविरुद्धकोे आक्रोश हो। नेता र मन्त्रीले जनतालाई निकै हेपेका थिए। बहालवाल मन्त्रीले ‘को त्यो अख्तियार?’ भन्ने अभिव्यक्ति दिन्थे। दलका जिम्मेवार नेताहरू नै ‘कांग्रेस-एमालेले गरेको निर्णयमा कहाँ हुन्छ छानबिन?’ भन्थे। के कांग्रेस-एमालेलाई मनपरी गर्ने अधिकार जनताले दिएका थिए त? थिएनन् नि। जनताको मतमाथि एकदमै धेरै खेलवाड भयो। अनि अब पनि यो कुरा सिकेनौँ वा परिवर्तन भएन भने अर्को परकम्प खेप्नुपर्छ। हामी धेरै सच्चिनुपर्छ, म त भन्छु- जनताका बीचमा गएर उठबस गर्नुपर्नेछ।
एमालेमा त सुध्रिने संकेत देखिँदैन नि?
अब पनि पार्टी सच्चिँदैन भने सक्किने नै हो। हिजो हामीले जसरी एमालेलाई ओलीकरण गर्यौँ, त्यसबाट धेरै मूल्य चुकाएका छौँ। अब पनि नसुध्रिँदा त हाम्रो पराजय निश्चित छ। हिजो म नवीन्द्रराज जोशीको एउटा भाषण सुन्दै थिएँ। उहाँले भन्नुभएको थियो, ‘चाउचेस्कु अघिल्लो दिनसम्म मै हुँ सारा भन्दैथियो, भोलिपल्ट अज्ञात ठाउँमा लगेर काटे।’ मैले भन्न खोजेको के हो भने हामीले गरेका कामकै कारण दुर्दिन र राम्रा दिन आउने हुन्। तपाईँ राम्रा काम गर्दै जानुहुन्छ, परिणाम राम्रो आउँछ, नराम्रो गर्दै जानुहुन्छ, नराम्रै मिल्छ। यो त सामान्य छ नि।
एमालेमा सुधार गर्न केकस्ता काम गर्न आवश्यक छ?
एमालेलाई सुधार गरेर पुग्दैन, यसलाई परिवर्तन गर्नुपर्छ। एमालेलाई जनतामा पुर्याउन ३६० डिग्रीको परिवर्तन आवश्यक छ। यसको विधान, प्रतिवेदन, कार्यपत्र, निष्कर्षचाहिँ ठिक छ। कार्यान्वयनमा परिवर्तन गर्नुपर्छ। विधानमा भएका कमजोरी हटाउनुपर्छ, नेतृत्व फेर्नुपर्छ। नत्र एमाले सुध्रिँदैन।
एमालेले विधान महाधिवेशन गर्यो, त्यहाँ त जेनजीबारे गलत विश्लेषण गरियो नि। नेताहरू जेनजी के हो भन्ने बुझ्दैनन्। मतलब अघिल्लो दिन जेनजीलाई केही नठान्नेहरू भोलिपल्ट दिउँसै भाग्नुपर्ने भयो? के हाम्रा नेताहरूमा यति पनि दूरदर्शिता छैन?
कहाँ दूरदर्शिता! हाम्रा नेताहरू समाजसँग ‘रिलेटेड’ नै हुनुहुन्न। सडकमा खाल्डा छन्, बाटोमा साइकल चलाएर हिँड्दा के हुन्छ, हाम्रो नेतृत्वलाई थाहै छैन। बाटोमा साइकल चलाउँदा के हुन्छ, ट्याक्सीमा हिँड्दा के हुन्छ थाहा छैन। किनभने ल्यान्डक्र्याजुरमा हिँड्नेलाई थाहा हुन्न नि। उदाहरणका लागि, हाम्रो सार्वजनिक सेवा कस्तो छ भन्ने कुरा त थाहा भइहाल्यो नि। हाम्रो देशको एउटा राष्ट्रिय राजमार्ग छैन। सडकको समस्या २० वर्षदेखि एउटै भोगिरहेका छौँ। हाम्रो नेतृत्वलाई आफ्नै छोराछोरीले पनि पत्याउँदैन।
जनतासँग जोडिँदा मात्र समाजबारे जानिने हो। नेतृत्व एकदमै जागरुक हुनुपर्छ। अहिलेको पुस्तादेखि विषयवस्तुसँग अद्यावधिक भइरहनुपर्छ। तर हाम्रोमा त विश्वविद्यालयमा चरम राजनीति छ, राजनीतिशास्त्र, समाजशास्त्र पढ्ने विद्यार्थीसँग यी नेताको अन्तरक्रिया कहिल्यै हुँदैन। पासपोर्ट बनाउन लाइनमा बसेको, कन्सल्टेन्सी धाइरहेको, एमबीबीएस पढेर पीटीई पढिरहेका युवासँग हाम्रा नेताको संवाद हुँदैन। मेरो पार्टी (एमाले) ल्यान्डक्रुजरमा थियो, उसलाई साइकलमा हिँड्दा ट्रकले कसरी ठक्कर दिन्छ भन्ने थाहै भएन।
हाम्रा नेताहरू समाजभन्दा भिन्न अवस्थामा छन् भन्न खोज्नुभएको हो?
भिन्न होइन, हाम्रा नेताहरू समाजभन्दा धेरै टाढा भइसके। उनीहरूलाई समाजसँग मतलब छैन। समाजसँग त व्यक्तिको परिवार हुन्छ, घर हुन्छ, महँगी हुन्छ, बेरोजगारी र हन्डरठक्कर हुन्छ। समाजमा अनेक समस्या हुन्छन् नि। समाजमा त राम्रो र नराम्रो दुवै छ। हाम्रा नेतालाई यस्ता कुरा थाहै छैन नि। यो भनेको उनीहरू समाजभन्दा टाढा भइसके। यही कारण हामीले दुर्घटना व्यहोरेका हौँ। म हिजो पनि यही कुरा भन्थेँ, आज पनि भन्छु, भोलि पनि भनिरहनेछु। अरू कुरा नसके पनि आफ्ना कुरा उठान गरिरहनुपर्छ। मलाई त कतिपयले पार्टीमा नबस् पनि भन्छन्। म कसैको चाहनाले एमाले भएको होइन। म त एमाले राम्रो हुँदा मात्र समाज बन्छ भन्ने गर्छु। अहिले त मेरो पक्षधरता पनि बढेको छ। म आफ्नो काम गरिरहन्छु। यसैमा खुसी छु। म त काहीँ पुग्छु भनेर लागेको होइन, म त परिवर्तनका लागि लागेकी हुँ, लागिरहनेछु।