
तनहुँ– ‘जेनजी’ प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न कार्यदल गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो ।
कार्यदलमा सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानुका सशस्त्र प्रहरी निरीक्षक सदस्य र सदस्य सचिवमा तनहुँ कारागारका प्रशासक श्यामसिंह बोहोरा रहेका छन् ।
आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट ३२७ जना फरार भएका थिए । त्यसमध्ये १८७ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। त्यसबाहेक अन्य विभिन्न कारागारबाट भागेका ४४ जनालाई पनि पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको उनले बताए ।
फरार भएका कैदीबन्दीलाई आगामी असोज २० गतेसम्म कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन अनुरोध गरिएको छ । अन्यथा कारागार ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारबाही हुने र त्यस्ता कैदीबन्दीहरुलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजम कारबाही गरिने जनाइएको छ । रासस