
इटहरी– धरानमा कात्तिक १९ गते आयोजना हुने कवि विमल गुरुङको ५४ औँ जन्मजयन्ती तथा ३४ औँ राष्ट्रिय कविता महोत्सवका लागि उत्कृष्ट कृति र कविता छनोट गरिएको छ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयले आइतबार पुरस्कारका लागि प्राप्त १०४ कृतिमध्ये उत्कृष्ट १० कृति छनौट गरेको जनाएको छ। उत्कृष्ट कृतिमध्ये एकलाई ताम्रपत्रसहित नगद २ लाख रुपैयाँ प्रदान गरिनेछ।
छनौटमा परेका उत्कृष्ट १० कृतिहरू डायस्पोराःअवधारणा र अभ्यास (रक्ष राई), रातो नदी (जुनु राना), डोलीभर्ना (डा. चित्र माबो), सिमसारा (वसन्त बस्नेत), काँचको पोखरी (टीका भाइ), नातिपुस्ताको खेल (कृष्ण बराल), मोहोर (सागर गैरे), जब कविता निस्कन्छ जुलुसमा (सुरज राना), कोइलाखाद (श्याम सिंघक) र गण्डकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाहरूको अध्ययन (तेज बहादुर गुरुङ) रहेका छन्।
यसैगरी राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशबाट प्राप्त ९० कवितामध्ये १० उत्कृष्ट कविता छनौट गरिएको छ। छनौटमा परेका कविताहरूमा छातीभित्र पृथ्वी (रिजन मायालु, इलाम), भूपरिवेष्ठित चेतना (राजु उवरकोटी, दोलखा), संग्रहालयमा थन्किएको खापसियो (दीपा मग्राती, सुनसरी), पसिनाको सौन्दर्य (किशन पौडेल, हेटौँडा), अभिशप्त जिन्दगी (बाबुराम श्रेष्ठ, सिन्धुली), रातो रङ्ग (आरती आचार्य, म्याग्दी), सपनाहरूको आँखाबाट (याम मगर, रोल्पा), फर्किन्छु अब देश (विनेश राई मिन्जाई, सुनसरी), दिशाहीन समयको प्रेतात्मा (शून्य नयन, गोरखा) र देशको ठेगाना (शुचरा, खोटाङ) रहेका छन्।
प्रथम हुनेलाई स्वर्णपदकसहित २१ हजार, द्वितीयलाई रजतपदकसहित १९ हजार र तृतीयलाई काश्यपदकसहित १८ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
विमल गुरुङको स्मृतिमा पुस्तकालयले हरेक वर्ष कृति पुरस्कार र कविता महोत्सव गर्दै आएको छ। २०४८ साल वैशाखमा धादिङको जुकेपानीमा सवारी दुर्घटनामा निधन भएका विमलका ‘एक किलो जंगल’, ‘आत्मघोषणा’ र ‘शहरको प्रगाढ मौनता’ गरी तीन कविता संग्रह प्रकाशित छन्।
एक्लो कवि छोराको देहावसानपछि व्रिटिश गोर्खा लाहुरे बाबू पूर्णवहादुर गुरुङ र परिवारले धरानको बुद्धचोकमा ०४९ सालमा जग्गा खरिद गरेर दुई तले पक्की भवन निर्माण गरी विमलको स्मृतिमा सार्वजनिक पुस्तकालय सञ्चालन गर्दै आएका छन्।