तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३९ को मृत्यु, ८५ घाइते

हिमाल प्रेस १२ असोज २०८२ १२:१६
56
SHARES
तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३९ को मृत्यु, ८५ घाइते

काठमाडौँ- भारतको तमिलनाडु राज्यस्थित करूरमा अभिनेता हुँदै नेता बनेका विजयको र्‍यालीमा मच्चिएको भगदडमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा ९५ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

तमिलनाडुका स्वास्थ्य सचिव पी.सेन्थिल कुमारले यो जानकारी दिएका हुन्।

दुर्घटनापछि तमिलनाडुको मुख्यमन्त्री एम.के.स्टालिनले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपुर्ति दिने घोषणा गरेका छन्।

यसैबीच अभिनेता विजयले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख प्रकट गर्दै आफू गहिरो पीडामा भएको बताएका छन्।

तमिलगा वेट्री कड्गम (टीवीके) का अध्यक्षसमेत रहेका अभिनेता विजयले मृतक परिवार र घाइतेहरूका लागि सहयोग राशिको घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत मृतकका परिवारलाई २० लाख र उपचार भइरहेका घाइतेहरूलाई २ लाख नगद सहयोग गर्ने घोषणा गरेका हुन्।
‘यति ठूलो क्षतिको तुलनामा यो राशिको कुनै अर्थ छैन। तथापि, तपाईँको परिवारको सदस्य भएको नाताले तपाईँसँग उभिनु मेरो कर्तव्य हो,’ विजयले लेखेका छन्।

तमिलनाडुका स्वास्थ्यमन्त्री सेन्थिलका अनुसार भागदौडमा १७ महिला, १३ पुरुष, ४ बालका र ५ बालिकाको ज्यान गएको छ।

घटनाको छानबिनका लागि सेवानिवृत्त उच्च अदालतकी न्यायाधीश अरुणा जगदीशनको अध्यक्षतामा एक सदस्यीय छानबिन आयोग पनि गठन गरिएको छ।

यो घटना शनिबार साँझ विजयले करूरमा ‘तमिलगा वेत्री कडगम’ पार्टीको र्‍यालीलाई सम्बोधन गरिरहेको बेला भएको हो।

दुर्घटनापछि मुख्यमन्त्री स्टालिनले जिल्लामा ‘इमर्जेन्सी प्रोटोकल’ लागू गर्ने आदेश दिएका छन्। मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
घटनाप्रति भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले पीडित परिवारप्रति आफ्नो गम्भीर संवेदना रहेको बताएकी छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्ना प्रियजन गुमाएका परिवराहरूसँग आफ्नो समवेदना रहेको उल्लेख गरेका छन्।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सबै कांग्रेस कार्यकर्तालाई पीडित परिवारलाई सक्दो सहयोग गर्न र उपचारमा अधिकारीहरूसँग मिलेर काम गर्न अपील गरेका छन्।

कसरी भयो दुर्घटना?

समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विजयले भाषण गरिरहँदा भीड बढ्दै गएको र नियन्त्रण बाहिर पुगेको थियो। यस क्रममा धेरै जना बेहोस भई ढलेका थिए र त्यसपछि भागदौड मच्चिएको थियो।

विजयले आफ्नो भाषण रोक्दै प्रचार बसको छतबाट मानिसतर्फ पानीका बोतलहरू फ्यालेर सहयोग गर्ने प्रयास गरेका थिए। अत्यधिक भीडका कारण एम्बुलेन्सलाईलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भएको थियो।

प्रकाशित: १२ असोज २०८२ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast