राजनीतिक संकट : राष्ट्रपति पौडेलको सराहनीय भूमिका

किरण पौडेल १३ असोज २०८२ ६:०८
58
SHARES
राजनीतिक संकट : राष्ट्रपति पौडेलको सराहनीय भूमिका फाइल तस्बिर

काठमाडौँ- २०६२/०६३ को जनआन्दोलनपछि मुलुक गणतन्त्रमा परिणत भयो भने राज्यको सर्वोच्च तहमा नागरिक पुग्ने बाटो खुल्यो। मुलुकमा कार्यकारी प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राष्ट्रपति रहने व्यवस्था भयो।

२०६५ यता देशले तीन राष्ट्रपति पाएको छ। पहिलो राष्ट्रपति रामवरण यादवलाई त सुरुमै धक्का लागेको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानसेनापति रुक्मांगद कटवालसँग विवाद भयो। अन्ततः प्रचण्डले राजीनामा दिए।

दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी विवादित बनिन्। उनीमाथि तत्कालीन नेकपा नेतृत्वको सरकारको ‘रबर स्ट्याम्म’ बनेको आरोप थियो। यतिमात्र होइन, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुई पटक गरेको संसद् सदर गरेर भण्डारी आलोचित बनिन्।

यी दुई राष्ट्रपतिका कारण राष्ट्रपतीय भूमिका प्रश्न उठेका थिए। दलबाट छानिएका व्यक्ति राष्ट्रपति बन्दा मुलुक अभिभावकविहीन बनेको भनेर आलोचना भयो। राजावादीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न गर्दै राजसंस्था पुनःस्थापनाको मुद्दा बोके।

फागुनमा राजा फर्काऊ अभियान चलाउँदा हिंसात्मक घटना भयो। अन्ततः राजावादी शक्ति तितरबितर बने र आन्दोलन रोकियो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि कतिपयलाई लोकतान्त्रिक प्रणाली भत्किन सक्ने भय थियो। देशमा संकट उत्पन्न भएका बेला अभिभावक राजा हुनुपर्ने जिकिर राजावादीहरूले गरेका थिए। त्यसो हुन पाएन। अन्तरिम सरकार बन्यो। यद्यपि सरकार संविधानअनुसार बनेको छैन।

राजनीतिक विश्लेषकहरूका अनुसार संविधान र प्रणाली मिचेर सरकार गठन भई निर्वाचन घोषणा गरिएको छ। विषष परिस्थितिमा सबैभन्दा उन्नत र सुझबुझपूर्ण ढंगले यो कदम चालिएको बुझाइ उनीहरूको छ।

भदौ २३ देखि काठमाडौँमा सल्किएको जेनजी आन्दोलनको माग प्रणाली फेर्ने थिएन। उनीहरूले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने माग राखेका थिए। हजारौँ युवा सडकमा आउँदा सरकारी पक्षबाट बल प्रयोग भयो। १९ युवा गोलीका सिकार भए। भदौ २४ मा उठेको युवाको आन्दोलनले सार्वजनिक–निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्नेदेखि शीर्ष तहका नेताहरूमाथि भौतिक आक्रमण भयो। सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जल्न पुगे। आन्दोलनका क्रममा दुई दिनमै ७४ जनाको ज्यान गयो।

राज्य सञ्चालकहरू सुरक्षाका लागि भाग्नुपर्ने स्थिति आयो भने प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर सेनाको शरणमा परे। सत्तारुढ नेपाली कांगे्रसका सभापति आन्दोलनकारीको निसानामा परे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ज्यान जोगाउन ब्यारेकतिर छिरे। मुलुकमा संघीय लोकतान्त्रिक व्यवस्था रहने–नरहने भय फैलियो।

सुशीला कार्की प्रधानमन्त्री बन्नुपूर्वको वातावरण राजतन्त्र फर्किने भ्रामक सूचनाको मारमा थियो। सेना आफैँ राजतन्त्र फर्काउन लागिपरेको र राष्ट्रपति रामचन्द्र पौडेल सेनाको कब्जामा परेको हल्ला पनि फैलियो।

सामाजिक सञ्जालमार्फत कतिपयले राष्ट्रपति पौडेल सार्वजनिक हुनुपर्ने र राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने माग उठेको थियो। जेनजीका नाममा शीतलनिवासमा आगजनी भएपछि राष्ट्रपति सेनाकै नियन्त्रणमा पुगेको भ्रम पनि फैलियोे। जतिबेला राष्ट्रपति हराएको वा कब्जामा पारिएको भनिएको थियो, राष्ट्रपति पौडेल भने राजनीतिक संकटको गाँठो फुकाउन व्यस्त थिए।

राष्ट्रपति पौडेल जेनजी र राजनीतिक दलका नेताहरूसँग संवादमा थिए। उनको धारणा जेनजीसमक्ष पुर्‍याउने र जेनजीको धारणा राष्ट्रपतिसमक्ष पु¥याउने काम भने सेनाले गरेको थियो।

जेनजी युवाले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याए। जुन प्रस्ताव राष्ट्रपतिले दलका नेताहरूलाई समेत सुनाएर सहमति जुटाए।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य राष्ट्रपतिको यसपटकको भूमिका सराहनीय रहेको बताउँछन्। ‘ठूलो साहसले यो निर्णय लिएको देखिन्छ। व्यवस्था पल्टिन्छ कि भन्ने शंका बढिरहेका बेला राष्ट्रपति पौडलले मुलुकलाई ट्रयाकमा ल्याउनुभयो’, आचार्य भन्छन्।

देशको नेतृत्व शून्यमा पुगेका बेला राष्ट्रपति पौडेलले समस्या चिरेर अघि बढेको नेताहरू बताउँछन्। राजनीतिक विश्लेषकहरू राष्ट्रपति पौडेलले अभिभावकीय भूमिका निर्वाह गरेर अन्योल अन्त्य गर्न सफलता प्राप्त गरेको बताउँछन्।

‘राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुभएको छ,’ लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव सुरेन्द्रकुमार झा भन्छन्, ‘राष्ट्रपतिले विवेकपूर्ण निर्णय गर्नुभयो।’ ठूला दलका नेतासमेत बन्धक बन्दा राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गरेको उनको तर्क छ।

सही व्यक्ति, सही पदको भागीदार

अघिल्ला राष्ट्रपतिहरूमाथि अनेक प्रश्न उठे। उनीहरूको भूमिकामाथि मात्र प्रश्न उठेन उनीहरूको यात्राका क्रममा लिइने ‘सुरक्षा’ का विषयमा पनि व्यापक प्रश्न उठे। अघिल्ला दुई राष्ट्रपति कतै निस्कँदा सडक बन्द गर्ने पद्धति थियो।

अघिल्लो राष्ट्रपति विद्या भण्डारी यही कारण आलोचित बनिन्। मन्दिर पस्दा होस् वा सार्वजनिक कार्यक्रममा पुग्दा होस् प्रभावकारी सुरक्षा व्यवस्थाका नाममा घण्टौँ सडक जाम गराइन्थ्यो। राजधानीको व्यस्त सडकमा घण्टौँ रोकिँदा सर्वसाधारण समयमै गन्तव्यमा पुग्न सक्दैनथे।

पौडेल राष्ट्रपति बनेपछि यो समस्या सुल्झियो। अहिले उनको सवारी रहेकै अवस्थामा पनि सार्वजनिक-निजी सवारी खोल्ने गरिन्छ। राजनीतिक विश्लेषक आचार्य पौडेलले लोकतन्त्रको मर्म बुझेको तर्क गर्छन्। ‘पौडेल लोकतन्त्र बुझेको नेता हो। उहाँलाई कसरी लोकतन्त्र बचाउनुपर्छ थाहा छ’, आचार्य भन्छन्।

राष्ट्रपतिले सुझबुझ ढंगबाट निर्णय लिएको जानकारहरू बताउँछन्। उनले निकालेको विज्ञप्तिमा समेत ‘बढो जुक्ति लगाएर प्राप्त अवसरलाई सदुपयोग गर्न’ दलहरूलाई आग्रह गरेका छन्।

‘दलको राजनीति गरे पनि सही निकास निकाल्न सक्ने व्यक्तिका रूपमा हामीले उहाँ (पौडेल) लाई बुझ्नुपर्छ,’ आचार्य भन्छन्, ‘उहाँ दलकै राजनीतिबाट आएकाले पनि दललाई कसरी जोगाउन सक्नुपर्छ भन्ने हेक्का पाउनुभयो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast