
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने बताए। उनले सरकारले पासपार्टमा रोक्न र सुविधा रोक्न लागेको विषलाई संकेत गर्दै उक्त कुरा बताएका हुन्।
ओलीले भक्तपुरको गुण्डुमा शनिबार आयोजित दसैँ भेटघाट कार्यक्रममा भने, ‘हाम्रा पासपोर्ट रोक्ने? यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ? के ठानेको छ हामीलाई?’ ओलीले सरकारले देशमा शान्तिसुव्यवस्था कायम गराउन नसकेको बताए।
उनले भने, ‘सरकार हाम्रो सुविधा रोक्ने र पासपोर्ट रोक्ने भनेर धक्कु लगाएर बसेको छ।’ उनले आतंक मच्चाएर सरकारमा गएकाहरूले अरूलाई सुरक्षा दिन्नँ भन्न नमिल्ने बताए।
ओलीले नेकपा एमाले सरकारमा रहँदा सुशासन र विकासका क्षेत्रमा नयाँनयाँ मोडेलका काम भएको दाबी गरे। उनले आफूले सकेसम्म भ्रष्टाचार न्यूनीकरण गर्न प्रयास गरेको बताए। ओलीले भने, ‘मैले अहिलेसम्म भ्रष्टाचार गरिनँ र अरूलाई पनि गर्न दिइनँ।’
उनले आफूहरूले जहिल्यै जनताको सेवा गर्दै आएको बताए। ओलीले आफूले सरकारमा बस्दा पनि जहिल्यै भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा निर्देशन दिँदै आएको बताए। उनले भने, ‘यो सरकारले मैले बोलेका कुरा प्रकाशन गरेर जनताका बीचमा ल्याउनुपर्छ।’
यसैगरी उनले कर्मचारीलाई दिएका निर्देशन, प्रहरीलाई दिएको निर्देशन र अन्य क्षेत्रमा भएका कुरा र काम रेकर्डेड भएकाले बाहिर ल्याउनुपर्ने बताए। उनले भने, ‘हामी छलछामले होइन, पारदर्शी रूपमा अगाडि बढ्छौँ।’
ओलीले भदौ २४ गते देशव्यापी आगजनी र तोडफोडमा जेनजी युवाको सहभागिता नभएको बताए। उनले २३ गतेको घटनाबारे आफू अत्यन्तै दुःखी भएको बताए। उनले २४ गतेको घटना नहोस् भनेर आफूले सक्दो प्रयास गरेको बताए। ओलीले आफ्नो हातमा केही नहुने संकेत देखेपछि प्रधानमन्त्री पदबाट राजनीमा दिएको ओलीको भनाइ थियो। उनले जेनजीले उठाएका सुशासनका पक्षमा आफू गम्भीर भएको बताउँदै त्यसतर्फ देशलाई जान नदिइएको बताए। उनले यसबारे आयोग बनेकाले छानबिन हुने विश्वास व्यक्त गरे।
कार्यक्रम बाक्लो सुरक्षा घेरामा कार्यक्रम आयोजना गरिएको थियो।