
बाउलाई डिस्चार्ज गर्न लाग्दा अस्पतालमा तिर्नुपर्ने रकम हेरेर सजल शोचमग्न भयो। बाउको उपचार महँगै छ भन्ने त उसलाई थियो तर बिलको यो अंक उसले अनुमान पनि गरेको थिएन।
यो सहरमा आफ्नो भन्नु उसको काका छ।
काकाले बाउकै मुखेन्जी सजलसँग भनेकै थियो- ‘सधैँ आउन त भ्याउँछु/भ्याउँदिनँ; गाह्रोसाह्रो पर्दा मलाई सम्झी है, केटा!’
सजलसामु काकालाई सम्झिनैपर्ने स्थिति उभियो।
अनि ऊ फोनमा बिजी भयो।
सजलले फोन लगायो : कल गयो तर रिसिभ भएन।
दस मिनेटपछि फेरि नम्बर डायल गर्यो : कल गयो तर रिसिभ भएन।
आधा घन्टापछि फेरि नम्बर डायल गर्यो : कल गयो तर रिसिभ भएन।
पाँच घन्टापछि फेरि नम्बर डायल गर्यो : कल गयो तर रिसिभ भएन।
अनि सजलले घरमा फोन गर्यो र आमालाई भन्यो- ‘गरगहना धितो राखेर केही पैसा तुरुन्त पठाउनुपर्यो।’
बेलुकीपख सजलले भनेजति पैसा प्राप्त गर्यो।
र, काकालाई म्यासेज गर्यो- ‘बालाई आज डिस्चार्ज गर्न लागेको। बिल चुक्ता गरेर बाहिर निस्किएपछि बाले तपाईँसँग भेट गर्न खोज्नुभयो। त्यही भएर फोन गरेको थिएँ। धेरैपटक कल गरेँ।… काका कता बिजी हुनुहुन्थ्यो; कुन्नि!’
दस मिनेट जतिपछि सजल काकालाई फोन गर्ने बारे सोच्दै थियो; काकाकै फोन आयो।
केही समयपछि त काका आफैँ पनि आयो।