
काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रधानाध्यापकमाथि कारबाही गर्ने चेतावनीसहितको सूचना सच्याएका छन्। मन्त्री पुनले शनिबार ८ बजे एक सूचना जारी गर्दै तलब नदिने प्रधानाध्यापकमाथि कारबाही हुने चेतावनी दिएका थिए।
शिक्षकलाई प्रधानाध्यापकले नभई स्थानीय सरकारले तलबसुविधा खुवाउने कानुनी व्यवस्था छ। सोहीअनुसार उनले ‘भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकासा नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिने’ चेतावनी दिएका हुन्।
मन्त्री पुनले दसैँतिहारका अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रधानाध्यापक र शिक्षकहरुको गुनासो आएको सूचनामा उल्लेख गरेका छन्।
पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारबाही गरिनेछ।’
शिक्षकलाई कसले खुवाउँछ तलब?
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब स्थानीय तहले खुवाउने व्यवस्था छ। मासिक रूपमा तलब नदिइएको गुनासो बढेपछि शिक्षा मन्त्रालयले २०८१ मंसिर १७ गते सामान्य प्रशासन मन्त्रालयलाई शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलबभत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलबभत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र गर्न आग्रह गरेको थियो।
सोहीअनुसार सामान्य प्रशासन मन्त्रालयले सोही वर्षको मंसिर २० गते सबै स्थानीय तहलाई परिपत्र गरेको थियो। यद्यपि शिक्षकले मासिक तलब नआएको गुनासो गर्दै आएका छन्।
शिक्षा नियमावलीमा यस्तो छ तलबको व्यवस्था
१००. तलब भत्ताः (१) शिक्षकले आफ्नो पदमा बहाल गरेको मितिदेखि नेपाल सरकारले तोकिदिए बमोजिमको तलब र भत्ता पाउनेछ।
(२) यस नियमावलीबमोजिम निलम्वन भएकोमा बाहेक स्थायी शिक्षकले एक शैक्षिक सत्र पूरा गरेपछि नेपाल सरकारले तोके बमोजिमको एक तलब वृद्धि पाउनेछ।
१०१. पकाएको तलब भत्ता पाउनेः (१) शिक्षकले प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउने भए सो समेत पाउनेछ ।
(२) शिक्षकले पकाएको तलब भत्ता निज जुनसुकै व्यहोराबाट सेवामा नरहे पनि पाउनेछ।
१०२. बढुवा हुने शिक्षकको तलबमान सम्बन्धी व्यवस्थाः माथिल्लो तलबमानको कुनै श्रेणीमा बढुवा पाउने शिक्षकले सो तलबमानको शुरु तलब पाउनेछ। तर निजले हाल पाइरहेको तलब माथिल्लो श्रेणीको तलबमानको न्यूनतम तलब बराबर वा सो भन्दा बढी भएमा माथिल्लो तलबमानमा निजको तलब तोक्दा देहायबमोजिम गरी तोकिनेछः–
(क) निजले हाल पाइरहेको तलब माथिल्लो तलबमानको शुरु तलब बराबर भएमा सो तलबमा एक तलब वृद्धि थप गरिनेछ।
(ख) साविक श्रेणीमा पाइरहेको तलब बढुवा भएको श्रेणीको शुरु तलबभन्दा बढी भएको अवस्थामा माथिल्लो श्रेणीको तलब तोक्दा हाल पाइरहेको तलबमा नपुगसम्मको तलब वृद्धि गरी माथिल्लो श्रेणीको एक तलब वृद्धिसमेत दिइनेछ।
मन्त्री पुनले शनिबार जारी गरेका दुई सूचना