
काठमाडौँ– कैलालीको धनगढीमा एक बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको छ । धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ११ वर्षीया सुमित्रा राना बिहीबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको शव शुक्रबार दिउँसो मोहना नदीमा भेटिएको हो ।
Tata
Futuressoft
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार साँझ करिब ४ बजेतिर हराएकी सुमित्राको खोजी गरिदिन भन्दै परिवारले शुक्रबार बिहान १० बजेतिर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार प्रहरीले जानकारी पाए लगत्तै खोजी कार्य सुरु गरिएको थियो । त्यसपछि केही समयमा बालिकाको शव फेला परेको हो।
शव बिहीबार दिउँसो ३ देखि ४ बजेको बीचमा फेला परेको प्रहरी नायव उपरीक्षक सिंहलाई जानकारी दिए। प्रहरीका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा थियो भने उनको कपडा र चप्पल घटनास्थलबाट करिब २०० मिटर पर भेटिएको थियो । शव निर्वस्त्र अवस्थामा भेटिएकाले घटना रहस्यमय भएको बताइएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।