देउवा, ओली र प्रचण्डमाथि दबाब

पार्टीमा रूपान्तरणको ‘आँधी’ ल्याउन सक्रिय यी नेता

किरण पौडेल १० असोज २०८२ २१:१७
24
SHARES
पार्टीमा रूपान्तरणको ‘आँधी’ ल्याउन सक्रिय यी नेता

काठमाडौँ– जेनजी आन्दोलनपछि ठूला राजनीतिक दलभित्र परिवर्तनको दबाब तीव्र भएको छ। पुराना नेताहरू अझै यथास्थितिमा अड्किएका भए पनि केही नेताहरू पार्टी सुधार, पुस्तान्तरण र पुनर्गठनको पक्षमा खुला चुनौती दिन थालेका छन्। कांग्रेसमा गगन थापा, एमालेमा उषाकिरण तिम्सेना र माओवादीमा जनार्दन शर्मा नेतृत्व रूपान्तरणको आँधी ल्याउने मुखर पात्रका रूपमा अगाडि उभिएका छन्।

यद्यपि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सजिलै पद छाड्ने संकेत देखिएको छैन। करिब चार दशकदेखि नेतृत्वमा रहेका यी नेताहरूलाई जेनजीको मागप्रति कुनै चासो छैन। बाँचुन्जेल पार्टी प्रमुख रहिरहने यी नेताका विरुद्ध पार्टीभित्रै जनमत बलियो हुन थालेको छ।

जेनजी आन्दोलनका माग देउवा, ओली र प्रचण्डबाट अब परिवर्तन सम्भव नभएकाले पदबाट हट्नुपर्ने भन्ने छ। जेनजीको आवरणमा भएको आन्दोलनले ठूला दलका नेताहरूलाई ‘पोल्यो’। अधिकांश नेताहरू घरविहीन बनेका छन्। कांग्रेस, एमाले र माओवादीमा अब परिवर्तन हुनुपर्ने आवाज बढेको छ। नेताहरूका अनुसार अब पार्टीमा नेतृत्व परिवर्तन गर्नैपर्ने निष्कर्षमा छन्।

कांग्रेसमा गगनले लिएको बाटो

कांग्रेसमा सबैभन्दा बढी रूपान्तरणको बहस चिर्ने नेता हुन्, गगन थापा। महामन्त्री गगन जेनजी आन्दोलनपछि लगत्तै आत्मलोचित बने। उनले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत कार्यकर्तालाई नआत्तिन सन्देश दिए। देशमा सरकारसमेत नभएका बेला गगनले कार्यकर्तालाई ‘फेरि उठ्नुपर्छ’ भनेर हौसला दिएका थिए।

विगतका कमीकमजोरीबाट पाठ सिकेर पार्टीलाई रूपान्तरणमा लैजाने अठोट महामन्त्री थापाको छ। भदौ २४ को घटनापछि उनले भनेका छन्, ‘तपाईँ र म सरकारमा थिएनौँ तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ।’

महामन्त्री थापा नियतवश पार्टीसहितका सबै नेताहरूको घर जलाउनेलाई कानुनको दायरामा ल्याउनुपर्ने पक्षमा छन्।

उनले भनेका छन्, ‘स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानुपर्छ। तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ।’ लगत्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग संयुक्त विज्ञप्ति निकाल्दै थापाले जरैदेखि सम्पूर्ण रूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गरेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको दुई महामन्त्रीले स्वीकारेका छन्।

बेथिति र भ्रष्टाचार मौलाएको विषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेको पनि उनीहरूको भनाइ छ। सत्तालाई जवाफदेही बनाउन गरेका प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा दुवै नेताले आत्मालोचना गरेका छन्।

‘अब फेरिएको यस परिस्थितिमा युवाहरूको आकांक्षा र अपेक्षाअनुसार जिम्मेवार राजनीति गर्ने दलका रूपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं। हामी विश्वस्त छौँ- आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, जेनजी युवाहरूको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जन उत्तरदायी दल बनेर अघि आउनेछ,’ उनीहरूको प्रतिबद्धता छ।

देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन सम्पूर्ण प्रयास केन्द्रित गरिने उनीहरूले बताएका छन्। परिवर्तनले सदैव अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा हामी दृढ ढंगले प्रस्ट छौँ’, महामन्त्रीद्वयले भनेका छन्।

कांग्रेसमा विशेष महाधिवेशन गर्न हस्ताक्षर अभियान जारी छ। देउवाले पद नछाडे विशेष महाधिवेशनबाट हटाउने योजनामा कांग्रेसका पदाधिकारी नै सक्रिय भएका छन्।

यसबीचमा गगनले कांग्रेस रूपान्तरणका लागि आफू पदमा नरहने समेत बताएका छन्। महामन्त्री रहेका थापाले पदलाई दाउमा राखेर भए पनि कांग्रेसको साख फर्काउने बताएका थिए। उनले भिडियो सन्देशमार्फत पनि कांग्रेस सुध्रिएमा आफू सामान्य कार्यकर्ता मात्र रहन सक्ने बताएका छन्।

जानकारहरू अहिलेकै अवस्थामा कांग्रेसमा सुधार हुन नसक्ने बताउँछन्। उनीहरूको बुझाइमा महामन्त्रीद्वयले यसअघि पनि मिठामिठा भाषण गरेका थिए। तर बोलीअनुसार व्यवहार गर्न नसक्दा अहिलेको परिस्थित आयो।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस सुदृढ बन्न नयाँ शिराबाट काम हुनुपर्ने बताउँछन्। पुराना पुस्तालाई विस्थापित गर्ने अभियान युवाहरूले उठाउनुपर्ने धारणा उनको छ।
अर्का राजनीतिक विश्लेषक डा. विष्णु दाहाल अब कांग्रेस सुध्रने पक्षमा नरहेको बताउँछन्। ‘गगन पनि देउवाजस्तै बनिसके, अब कांग्रेस सुध्रिँदैन’, दाहाल भन्छन्।

एमाले नेतृत्वमाथि खबरदारी गरिरहेकी उषा

एमालेमा उषाकिरण तिम्सेना केन्द्रीय सदस्य मात्र हुन्। उनको स्वर यतिबेला ठूलो सुनिएको छ। कारण हो, उनी अहिले एमालेमा रूपान्तरण र पुस्तान्तरणका पक्षमा उभिएकी छन्।

एमालेका पदाधिकारीमा रहेकै केही नेताहरू पुस्तान्तरणका पक्षमा उभिए पनि उषाजति खुलेका छैनन्। उषा, एमाले अध्यक्षबाट केपी शर्मा ओलीले तत्काल लिनुपर्ने बताउँछिन्। ओलीकै कारण एमाले बिग्रिएको दाबी उनको छ।

यसअघि साउनमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा समेत उषाले यही धारणा राखेकी थिइन्। उनको धारणा त्यसबेला सामान्य मात्र सुनियो। जेनजी आन्दोलनपछि उनको भनाइले सार्थकता पाएको छ। जेनजीले शीर्ष नेताप्रति वितृष्णा पोखे त्यसलाई उषा स्वाभाविक मानिरहेकी छन्। ‘जेनजीका नाममा जति क्षति भयो त्यो खेदजनक नै छ। तर उठाएका एजेन्डा गलत छैनन्’, उनी भन्छिन्। ‘नो ट्याक्स, नो एनसेन’ भन्दै अभियानमा सक्रिय उषा अब भने एमाले रूपान्तरण हुनुपर्ने आवाज उठाइरहेकी छन्।

‘एमालेबाट ओलीले मात्र होइन। ओलीलाई निर्विकल्प ठान्नेहरूले पनि बाहिरिनुपर्छ’, उषाले भनिन्। उनी एमाले बिगार्नेमा ओली मात्र नभई ओलीको नजिक रहेका नेता पनि रहेको बताउँछिन्।
उषाले विगतमा यस्तै आवाज उठाउँदै पार्टीमा कारबाहीको भागिदार हुनुपर्‍यो। एमाले मुख्यालय व्यवसायी मीनबहादुर गुरुङको सहयोगमा बनाउने निर्णय गर्दा उनी नेतृत्वको निसानामा परेकी थिइन्।

छमहिने निलम्बनबाट फुकुवा भएकी उषा नेतृत्वमाथि खबरदारी गरिरहेकै छन्। ‘म एमाले सुध्रनुपर्छ भन्ने आवाज उठाउँछु। हिजो पनि उठाएँ÷भोलि पनि उठाउँछु’ उषा भन्छिन्, ‘एमालेमा म कुन पदमा रहन्छु भनेर म भनिरहेकी छैन। एमाले सुध्रिनुपर्छ भनिरहेकी छु।’ जेनजी आन्दोलनपछि आफ्नो आवाजमा समर्थन गर्ने क्रम बढेको उनी सुनाउँछिन्। ‘पहिले एक्लै बोल्थे। अहिले समर्थक बढे। खुसी छु’, उषाले भनिन्।

पुस्तान्तरणका नाममा प्रचण्डसँग जुधिरहेका जनार्दन

जेनजीको निसानामा परेकामध्येका नेता हुन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। जेनजी आन्दोलनमा उनको घर मात्र जलाइएन उनका दुई छोरी रेणु दाहाल र गंगा दाहालको घरमा पनि आगजनी र तोडफोड भए।

जेनजीको माग शीर्ष नेताहरूले राजनीतिबाट बिदा लिनुपर्छ भन्ने छ। यही कारण ठूलो सडक संघर्ष भयो। यो संघर्ष माओवादीभित्र पनि सल्किसकेको छ। माओवादीभित्र केही वर्षयता उपमहासचिव जनार्दन शर्माले रूपान्तरण र पुस्तान्तरणको आवाज उठाइरहेका छन्। शीर्ष नेतृत्वले बिदा लिनुपर्ने आवाज उठाएका कारण प्रचण्डसँग सम्बन्ध बिग्रिएको छ।

उनले जेनजी आन्दोलनपछि सार्वजनिक अभिव्यक्तिमार्फत ‘पार्टीका मुख्य नेताहरू र आवश्यकतामा विभिन्न तहले आआफ्नो ठाउँमा त्याग गर्ने र नयाँ शिराबाट पुनर्गठन गर्ने घोषणा तत्काल गरौं। म पार्टीका दोस्रो, तेस्रो भनिएका साथीहरूलाई अनुरोध गर्दछु’ भनेका थिए। उनले अहिले पार्टीभित्र हालका पदाधिकारीबाट सबैले बिदा लिनुपर्ने माग राखेका छन्। शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा पनि उनले यस्तै अभिव्यक्ति दिए।

‘पार्टीमा मै अध्यक्ष हुनुपर्छ भनेको छैन। हामी सबै सल्लाहकारकार रूपमा बसेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याऔँ भनिरहेको छु’, जनार्दनले भनेका छन्। अहिले माओवादीमा जनार्दनलाई आड दिने नेताको पंक्ति बलियो बनेको छ। माओवादी नेता सुदन किराती, रन्जित तामाङ पनि पार्टीमा पुस्तान्तरणका पक्षमा खुलेर बोल्न थालेका छन्।

जनार्दनकै दबाबमा माओवादीले विशेष महाधिवेशनको प्रस्ताव पनि गरेको छ। आगामी असोजमा गर्ने भनिएको महाधिवेशनमा प्रचण्ड नयाँ तरिकाले नेतृत्व ल्याउन लागेको नेताहरू बताउँछन्। प्रचण्डले असोजसम्म आफू आयोजक कमिटीको संयोजकका रूपमा रहने गरी अन्य कमिटी विघटन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast