
काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसीबोका र च्यांग्रा बिक्री नगर्ने भएको छ।
कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको हुनसक्ने भन्दै व्यवस्थापनमा समस्या देखाउँदै खसीबोका र च्यांग्रा बिक्री नगर्ने जनाएको छ।
कम्पनीले आन्दोलन अगाडि करिब दुई हजार खसीबोका र च्यांग्रा खरिद बिक्रीका लागि प्रक्रिया सुरु गरे पनि पछिल्लो अवस्थाका कारण कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सचिवस्तरीय बैठकबाट खरिद तथा बिक्री कार्य नगर्ने निर्णय गरेको थियो।
सोहीअनुसार यसपटक खरिद बिक्री रोकिएको कम्पनीकी बागमती प्रदेश प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन्। खसीबोका खरिद गर्न चाहने केही उपभोक्ताले अनलाइनमार्फत गरेको बुकिङ रद्ध गरी रकम फिर्ताको प्रक्रिया सुरु भएको पनि उनले बताइन्।
कम्पनीले दसैँमा खसी बोका तथा च्यांग्राको स्वास्थ्यपरीक्षण, खरिद तथा ढुवानी लागत मूल्यांकन गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको थियो।
बजारको एकाधिकार अन्त्य गर्न कम्पनीले निर्धारण गर्ने मूल्यले बजारमा मूल्य नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने गरेको थियो। दसैँमा काठमाडौँ उपत्यकामा मात्रै करिब ५० हजार खसी बोकाको अतिरिक्त माग हुने गरेको जनाइएको छ।