तातोपानी नाकामा नेपाली कन्टेनर अड्किँदा व्यापारी चिन्तित

हिमाल प्रेस १० असोज २०८२ १६:२६
12
SHARES
तातोपानी नाकामा नेपाली कन्टेनर अड्किँदा व्यापारी चिन्तित सिन्धुपाल्चोकको तातोपानी नाका। फाइल तस्बिर

काठमाडौँ– सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा समस्यामा परेको गुनासो व्यापारीहरुले गुनासो गरेका छन्।

लामो समयदेखि अवरुद्ध अरनिको राजमार्ग खुलेको अवस्थामा पनि चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा आफूहरू समस्यामा परेको उनीहरूले गुनासो गरेका छन्। चाडपर्वलाई लक्षित गरी नेपाल ल्याउन लागेको सामान चीनतर्फ नै अड्किँदा करोडौँको नोक्सानी हुने अवस्था आएको उनीहरूको भनाइ छ।

ट्रान्स सिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले चाइनातर्फबाट नेपाल आउने गाडी सहज रुपमा आउन नसकेको बताए। उनले चाडपर्वलाई लक्षित गरी व्यवसायीहरुले मगाएका सामान अड्किँदा धेरै नोक्सानी हुने अवस्था देखिएको जिकिर गरे। औसतमा हरेक दिन ३० वटा कन्टेनर नेपाल आउने गरेकोमा अहिले निकै कम गाडीमात्र चिनियाँ पक्षले छाडेको उनको भनाइ छ।

त्यस्तै हिमालय सीमापार वाणिज्य संघ सदस्य बलराम ढकालले नेपाली भूभागमा रहेका गाडी आए पनि सीमापारि रहेका गाडीलाई चिनियाँ पक्षले नेपाल नपठाएको बताए। उनले यस विषयमा सरकारले चिनियाँ पक्षसँग छलफल गर्नुपर्ने बताए।

तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले तुलनात्मक रूपमा चीनबाट निकै कम गाडी आएकाले चिनियाँ पक्षसँग समन्वय भइरहेको जानकारी दिए। चीनतर्फ पर्याप्त जनशक्ति नभएकाले कम गाडी पठाएको जवाफ आएको भन्दै उनले छिटै सहज रूपमा गाडी नेपाल आउने विश्वास व्यक्त गरे।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध अरनिको राजमार्ग केही दिनअघि मात्रै खुलेको थियो। लामो समयपछि सडक खुल्दा पनि कन्टेनर सहज रुपमा नेपाल भित्रिन नसकेपछि व्यवसायी चिन्तित भएका छन्।

प्रकाशित: १० असोज २०८२ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast