
सुर्खेत- पञ्चपुरी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि करार म्याद थप नभएका कर्मचारी र सामुदायिक विद्यालयमा नगरपालिकाको अनुदानबाट पारिश्रमिक पाउने शिक्षकलाई हाजिरी नगर्न निर्देशन दिएको छ।
नगरपालिकाले स्थानीय सेवा ऐन २०८१, त्यसको पहिलो संशोधन २०८२ र नियमावली २०८१ को प्रावधान अनुसार २०८२ असोज ७ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार यो सूचना जारी गरिएको जनाएको छ।
नगरपालिकाको सूचनामा उल्लेख भएअनुसार करार अवधि समाप्त भएर म्याद नथपिएका कर्मचारी तथा अनुदानबाट पारिश्रमिक पाउने शिक्षकले यस सूचना प्रकाशित भएको मितिदेखि आफ्नो जिम्मेवारी बहन नगर्नुहुन र उपस्थित पनि नहुन स्पष्ट गरिएको छ।
साथै, उनीहरूले आफ्नो जिम्मामा रहेका सरकारी जिन्सी सामग्री तथा नगद सम्बन्धित कार्यालय, विद्यालय वा नगरपालिकाको कार्यालयमा औपचारिक रूपमा बुझाइदिन अनुरोध गरिएको छ।
नगर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी घिमिरेद्वारा हस्ताक्षरित सूचनामा सबै वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरूलाई जानकारी गराइएको छ।