एसियन हाइवेमा धुलोको बादल [कति सकियो काम?]

विवेक विवश रेग्मी १० असोज २०८२ १४:००
12
SHARES
एसियन हाइवेमा धुलोको बादल [कति सकियो काम?] एसियन हाइवेअन्तर्गतको पश्चिम खण्डअन्तर्गत सुनसरीको इटहरीस्थित सडक किनारामा रहेका संरचना हटाइँदै। तस्बिर : विवेक विवश रेग्मी।

इटहरी– अन्तर्राष्ट्रिय स्तरको सडक एसिएन हाइवेमा यात्रुले धुलो-माटो र जोखिमपूर्ण यात्रा भोगिरहेका छन्। दसैँ नजिकिँदै गर्दा पनि उक्त राजमार्ग यात्रुका लागि सहज नभई सकसको पर्याय बनेको छ। योजना कार्यालयले भने काम निरन्तर भइरहेको र दसैँमा पनि काम नरोकिने जनाएको छ।

कार्यालयका अनुसार झापाको काँकडभिट्टादेखि सुनसरीको लौकही सडक योजनाको हालसम्म २७ प्रतिशत काम भएको छ। सडक खण्डअन्तर्गत पूर्वी खण्ड र पश्चिम खण्डमा निर्माण कार्य जारी छ। पश्चिम खण्डमा २७ प्रतिशत काम भएको र दसैँमा पनि आंशिक काम हुने योजनाले जनाएको छ। झापाको सीतापुरीदेखि इटहरीको लबीपुरसम्म ९५.७ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागेर काम भइरहेको छ।

पूर्वी खण्डमा ४५ किलोमिटर र पश्चिम खण्डमा ५०.७ किलोमिटर सडकको काम भइरहेको काँकडभिट्टा-लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका सूचना अधिकारी इन्जिनियर पल्लव श्रेष्ठले जानकारी दिए।

‘लक्ष्मीमार्गदेखि भाउन्नेसम्मको सडकमा चार किलोमिटर (दुवैतर्फ) सडक पिच गरिएको छ,’ उनले भने, ‘औसतमा २७ प्रतिशत काम भएको छ। दसैँमा पनि आंशिक रूपमा काम जारी रहन्छ।’ पहिलो चरणको पिच गरिएका सडकमा सवारीसधान गुड्न थालेको छ। श्रेष्ठका अनुसार अहिले पनि विद्युत् प्राधिकरणले बिजुलीको पोल नहटाउँदा समस्या भइरहेको छ। सबैजसो ठाउँमा बिजुलीका पोलले निर्माणमा समस्या भएको उनले बतए। विद्युतीय संरचना हटाउन ठेक्का व्यवस्थापन भए पनि अपेक्षित काम भएको छैन।

निर्माण सामग्री आवश्यकताअनुसार पर्याप्त नहुँदा समस्या भएको उनको भनाइ छ। स्थानीय तहले खुलाएको ठेक्काअनुसार सबै सामाग्री लिँदासमेत सामग्री अपुग हुने श्रेष्ठले बताए। सडक निर्माणका लागि गिटी, ढुंगा र माटोसमेत प्रयोग हुने तर निर्माण सामग्री अभावले काम केही समय पछि धकेलिने उनले बताए।

‘सबैतिर साइड क्लियर भएको अवस्था र निर्माण सामग्री पाएको अवस्थामा यो आर्थिक वर्षभित्र ६० प्रतिशत काम सक्ने लक्ष्य छ। स्थानीय तहले खुलाएको ठेक्काअनुसार सबै सामान लिँदा पनि अपुग हुन्छ। प्रदेश र स्थानीय तहका आफ्नै योजनाका कारण पनि सामान पाइँदैन,’ इन्जिनियर श्रेष्ठले भने, ‘जेनजी आन्दोलनको समयमा दुई दिन काम रोकियो। त्यसबाहेक अब दसैँमा पनि काम ठप्प हुँदैन, आंशिक रूपमा काम भइरहन्छ।’

डाइभर्सनका कारण सडक यात्रा सकस थियो। अहिले डाइभर्सन सबै बन्द गरी सडक सञ्चालनमा रहेको छ। ‘यसअघि कल्भर्ट बनाउनका लागि डाइभर्सन निकाल्नुपर्ने अवस्था थियो, अहिले डाइभर्सन बन्द गरी सहज रूपमा सडक सुरु गरिएको छ,’ श्रेष्ठले भने।

योजनाका अनुसार साना र ठूला गरी ३१ वटा पुल निर्माण हुनेछ। जसमध्ये तीनवटा लामा पुल निर्माण भइरहेको छ। पश्चिम खण्डमा तीन सय मिटरभन्दा लामो तीनवटा पुल र तीन सय मिटरभन्दा कमको २८ वटा पुल निर्माण हुनेछ। तीन सय मिटरभन्दा लामो झापाको रतुवा र मोरङमा रहेका बक्राहा र लोहन्द्रा खोलाको पुल निर्माण भइरहेको योजना कार्यालयले जनाएको छ।

१० वटा ‘ओभरपास’

उक्त हाइवेमा १० वटा ‘ओभरपास’ बन्नेछन्। खासगरी ललितपुरको ग्वार्कोमा बनेको ‘फ्लाइओभर’ डिजाइनको ‘ओभरपास’ बन्ने इन्जिनियर श्रेष्ठले बताए। पश्चिम खण्डअन्तर्गत इटहरीमा तीनवटा, दमकमा तीनवटा र मोरङको बाँसबारीमा एउटा ‘ओभरपास’ बन्नेछ। एक सयको स्पिड गतिअनुसार उत्तर र दक्षिणको क्रसिङमा ‘ओभरपास’ डिजाइन गरिएको छ। जसअनुसार दमकमा ‘ओभरपास’ निर्माणको चरणमा गइसकेको उनले बताए।

इटहरीचोकमा ४२ मिटरको चौडाइ र साढे पाँच मिटरको उचाइमा ‘ओभरपास’ बन्ने श्रेष्ठले बताए। ‘पूर्व र पश्चिमतिर १३ मिटर चौडाइ र साढे ५ मिटर हाइटको ओभरपास बन्नेछ,’ उनले भने, ‘दुवैतिर साढे ६ मिटरको सर्भिस लेन, साढे ५ मिटरको फुटपाथ, साइकल लेन र बीचमा साढे ३३ मिटरको सडक गरी ५० मिटरमा काम भइरहेको छ।’ पूर्वी खण्डअन्तर्गत झापाको चारआली, बिर्तामोड, चारपाने क्षेत्रमा ‘ओभरपास’ बन्नेछन्।

इटहरीमा २५ संरचना हटाइए

इटहरी खण्डमा पर्ने सडक क्षेत्र विस्तारका क्रममा एक सय २४ वटा संरचना भत्काउनुपर्नेछ। हालसम्म २५ वटा संरचना हटाइसकिएको छ। बाँकी संरचना हटाउने चरणमा छ। इटहरी बूढीखोलादेखि लबीपुरसम्म देवीखोला सडक खण्डमा पर्ने संरचना सरकारी नक्साअनुसार सडक सीमाभित्र परेकाले मुआब्जा तथा क्षतिपूर्तिसहित हटाउन थालिएको योजनाले जनाएको छ।

‘इटहरी बजार क्षेत्रमा एक सय २४ वटा संरचना भत्काउनुपर्ने अवस्थामा २५ वटा संरचना हटाइएको छ। अन्य पनि भत्काइराखेको अवस्था छ,’ श्रेष्ठ भन्छन्, ‘समयमै संरचना हटाएर सहयोग गरेमा काम छिटो हुन्छ।’

प्याकेज एक र चार पूर्वी खण्डले हेर्दै आएको छ भने प्याकेज दुई, तीन र पाँच पश्चिम खण्डले हेर्दै आएको छ। जसअनुसार प्याकेज दुईमा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म पर्छ भने प्याकेज तीन गोठगाउँदेखि इटहरीको लबीपुरसम्म पर्छ। प्याकेज पाँच भने तीन सय मिटरभन्दा लामो पुल पर्ने उनले बताए।

प्याकेज २, ३ र ५ पश्चिम खण्ड इटहरी कार्यालयले हेर्दै आएको छ। यसैगरी प्याकेज १ र ४ पूर्वी खण्ड दमकले हेर्दै आएको छ।

पूर्वी खण्डमा अझै डाइभर्सन

आयोजनाअन्तर्गत पूर्वी खण्डका सूचना अधिकारी आशिष देवका अनुसार पूर्वी खण्डमा सडक निर्माण भइरहेको छ। जसअनुसार प्याकेज १ मा २५.२ प्रतिशत र प्याकेज ४ मा २२.५ प्रतिशत काम सकिएको छ। यसैगरी केरखा र धरमपुरमा १.४ किलोमिटर सडकमा कालोपत्रे (एकतर्फी सडकमा) निर्माण भएको उनले बताए।

‘डाइभर्सन सबै ठाउँमा क्लोज भइसकेको छैन, अझै केही ठाउँमा पुल र कल्भर्ट निर्माण भइरहेको छ,’ देवले भने, ‘दसैँ लगत्तै २.३ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी छ।’ उनका अनुसार दसैँपछि कन्काई पुल पनि निर्माणलाई तीव्र बनाइनेछ। हालसम्म भालु खोलाको पुल निर्माण भइसकेको उनले उदृत गरे। यसैगरी चारपाने र चारआलीमा एक महिनाअघिदेखि ओभरपासको काम भएको देव बताउँछन्। बिर्तामोडमा भने छठपछि मात्रै ओभरपास निर्माणले गति लिने उनले बताए।

‘यसअघि नै सबै डाइभर्सन बन्द गरिसक्ने तयारी थियो। तर विभिन्न समस्या भयो,’ उनले भने, ‘अब दसैँपछि कामले थप गति लिन्छ।’

पूर्वी खण्डमा अझै डाइभर्सन हुँदा यात्रुहरूका लागि यात्रा कठिन बन्दै आएको छ। मोटरसाइकलसहित दुईपांग्रे सवारीसाधनका लागि असहज यात्रा हुने गरेको बताइन्छ।

सहरी क्षेत्रमा ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र जंगल क्षेत्रमा २४ मिटरको बन्ने उक्त सडक झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म बनाउने गरी डीपीआर र डिजाइन तयार गरिएको थियो। तत्काल भने काँकडभिट्टादेखि इटहरीको लबीपुरसम्म मात्रै सडक निर्माण हुने आयोजनाले जनाएको छ। सडक सहरी क्षेत्रमा छ लेन र वन क्षेत्रमा चार लेनमा निर्माण हुनेछ। चार लेनमा गुड्ने सवारीसाधन भनेको लामो रुटमा चल्ने सवारीसाधन र त्यसको डिजाइन ‘स्पिड’ प्रतिघण्टा एक सय किलोमिटर छ।

एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा उक्त सडक निर्माण भएको हो। जसमा एसियाली विकास बैंकले ८४.१ प्रतिशत ऋण सहयोग गरेको छ भने १५.९ प्रतिशत रकम भने नेपाल सरकारको रहेको छ। कुल ३४ अर्ब ९१ करोड रुपैयाँ बजेटमा काँकडभिट्टादेखि लौकहीसम्म सडक बन्नेगरी सम्झौता भएको हो। यो आयोजना एसियन हाइवेको एउटा भाग हो।

 पूर्वी खण्डमा छुट्याइएको १६ अर्ब तीन करोड रुपैयाँमध्ये हालसम्म तीन अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ। जुन २२.५२ प्रतिशत खर्च हो। यसैगरी पश्चिम खण्डमा छुट्याइएको १८ अर्ब ८६ करोडमध्ये २४ प्रतिशत अर्थात् ४ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।

२०२४ फेब्रुअरी १ बाट सुरु भएको योजना २०२७ फेब्रुअरी १ मा सम्पन्न गर्ने लक्ष्य छ।

थाइल्यान्डको बैंककबाट सुरु भएको उक्त हाइवे म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्वपश्चिम राजमार्ग भएर नयाँदिल्लीबाट पाकिस्तानको कराँची पुग्नेछ। भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तार गरिसकेको छ। काँकडभिट्टादेखि इटहरीसम्म पाँचवटा खण्डमा ठेक्का लागेर काम भइरहेको छ।

प्रकाशित: १० असोज २०८२ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast