
काठमाडौँ- तुइन खोलाको पहिरो पन्छाएर नारायणघाट-मुग्लिन सडक सञ्चालनमा ल्याइएको छ। मंगलबार साँझ ठूलो पहिरो झरेपछि दिउँसो १ बजेदेखि नै सडक अवरुद्ध भएको थियो। बुधबार बिहानबाट पहिरो पन्छाउन थालिएकोमा बिहीबार राति ११ बजे मात्र सडक सञ्चालनमा आएको हो।
बिहीबार रात परेपछि पनि फ्लडलाइट बालेर काम गरिएको सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए।उनका अनुसार बिहीबार राति ७ बजेदेखि बत्ती बालेर काम गरिएको थियो। यसअघि रातको समय काम गर्ने गरिएको थिएन। लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरू निकै समस्यामा परेका थिए। हजारौं संख्यामा सवारी साधन रोकिएका थिए।
यसअघि यही ठाउँमा गत शुक्रबार झरेको पहिरो करिब ४५ घण्टा लगाएर हटाएपछि आइतबार अपराह्न ४ बजेबाट यातायात सञ्चालनमा ल्याइएको थियो। त्यसपछि पनि सानो पहिरो खसिरहँदा कहिले एकतर्फी, कहिले दुइतर्फी यातायात सञ्चालन हुँदै आएको थियो। मंगलबार भने ठूलो पहिरो खसेपछि राजमार्ग ठप्प भएको थियो।
पहिरो पन्छाउन लागि नारायणघाट तर्फबाट एउटा एक्स्काभेटर, एउटा लोडर र मुग्लिन तर्फबाट दुइटा लोडर र एउटा एक्स्काभेटर प्रयोग गरी निरन्तर काम गरिएको इन्जिनियर आचार्यले बताए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले सवारी साधनहरूलाई लेन नमिची अघि बढ्न आग्रह गरिएको बताए।