जेनजी आन्दोलनका दोषीउपर सख्त कारबाही गर्छौँँ : प्रधानमन्त्री कार्की

हिमाल प्रेस ९ असोज २०८२ १८:१४
16
SHARES
जेनजी आन्दोलनका दोषीउपर सख्त कारबाही गर्छौँँ : प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा सम्बद्ध दोषीउपर सख्त कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जनाएकी हुन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको निधन भएको थियो। तीमध्ये ५९ जनालाई सरकारले सहिद घोषणा गरेको छ।

भदौ २७ गते प्रधानमन्त्री भएपछि कार्कीले राष्ट्रका नाममा गरको यो पहिलो सम्बोधन हो। उनले नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताइन्।

कार्कीले संविधान संशोधनका लागि जेनजी पुस्तालाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरिन्। उनले नेपालको संविधान र शासकीय प्रणालीको संशोधन अन्तरिम सरकारको कार्यक्षेत्रमा नपर्ने प्रस्ट पारिन्।

‘नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेनजी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिर भएकाले युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रकृयाबाटै संविधान संशोधन गर्न आग्रह गर्न चाहन्छु,’ कार्कीले भनिन्।

गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो।

तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो।  प्रधानमन्त्री कार्कीले विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी गराइन्। उनले आसन्न निर्वाचनका लागि जनशक्ति, बजेट, सुरक्षालगायतका विषयमा आयोगसँग परामर्श गरी सरकारले चुनावी प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast