कांग्रेस उपसभापतिको दाबी- तालिमप्राप्त समूह परिचालन गरी जेनजी आन्दोलनलाई हिंसात्मक बनाइयो

हिमाल प्रेस ९ असोज २०८२ १७:४७
28
SHARES
कांग्रेस उपसभापतिको दाबी- तालिमप्राप्त समूह परिचालन गरी जेनजी आन्दोलनलाई हिंसात्मक बनाइयो

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी आन्दोलनका प्रारम्भिक मागहरू समर्थनयोग्य भए पनि पछि घुसपैठ भएपछि हिंसात्मक रूप लिएको बताएका छन्। उनले आन्दोलनमा तालिमप्राप्त समूह परिचालन गरेर हिंसात्मक बनाइएको समेत दाबी गरे।

गृहजिल्ला सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जाल खोल्नुपर्ने र सुशासन कायम गर्नुपर्ने आन्दोलनका मागलाई कांग्रेसले समर्थन गरेको स्मरण गराए। तर भदौ २४ गतेको घटनामा आन्दोलन शान्तिपूर्ण सीमामा नरही संगठित हिंसामा परिणत भएको उनको भनाइ थियो। ‘नेपालको इतिहासमै पहिलो पटक चार घण्टाभित्रै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि संगठित हमला भयो, यो सामान्य थिएन,’ उनले भने।

खड्काले आन्दोलनको नाममा सार्वजनिक र निजी सम्पत्ति क्षति पुर्‍याउने, संवैधानिक निकायहरूलाई लक्षित गर्ने जस्ता गतिविधि स्वीकार्य नभएको बताए। ‘लुटपाट र तोडफोड गर्नेहरूलाई उन्मुक्ति दिन मिल्दैन, सरकारले कडा कारबाही गर्नुपर्छ,’ उनले भने।

कांग्रेसभित्र नेतृत्व पुस्तान्तरणको बहस चलिरहेको पनि खड्काले बताए। ‘यो मुद्दा अहिले उठाइएको होइन, मैले पहिलेदेखि नै उठाउँदै आएको हो। सभापतिज्यूको स्वास्थ्य पूर्ण रूपमा सुधार भएपछि छलफल गरेर निष्कर्ष निकालिन्छ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast