दसैँको मूल कथा र पुजारी परम्परा : वैश्यदेखि मगरसम्म

विष्णुप्रसाद पोखरेल ११ असोज २०८२ ६:१६
18
SHARES
दसैँको मूल कथा र पुजारी परम्परा : वैश्यदेखि मगरसम्म

‘कोलाविध्वंसी क्षत्रियसँग युद्धका कारण विक्षिप्त भएका सुरथ आफ्नो मन्त्रीमण्डल र परिवारबाट तिरस्कृत र शक्तिहीन भई सिकारको बहानामा घोडा चढी जंगल गए। मेधा ऋषिको आश्रम गएर आफ्नो पीडा सुनाए। आश्रम बसाइका क्रममा वैश्यसँग संवाद हुन पुग्यो। व्यापार व्यवसायबाट अथाह सम्पत्ति कमाएका वैश्य आफ्ना इष्टमित्र परिवारको दुर्व्यवहारका कारण घर छोडी आश्रममा आएको कुरा बताए। परिवारका कारण दुःख पाइरहेका तिमी किन फेरि पारिवारिक मोहमा डुबिरहेका छौ? दुवैजनाको प्रश्न समानान्तर थियो!

मार्कण्डेय मुनिले दुवैजनाको कुरा सुन्दै सांसारिक मोहमा परेका कारण तिमीहरूमा विषयभोगको क्लेशले जरो गाडेको छ। यसबाट मुक्त हुन दुर्गा भगवतीको उपासना गर्नुपर्दछ। भगवतीको अनुकम्पाले मात्र तिमीहरूको जीवन सार्थक बन्न पुग्दछ। मार्कण्डेयसहित मेधा ऋषिबाट देवीको महिमा श्रवण गर्न पुगेका सुरथ र वैश्य राज्य र पारिवारिक मोहका लागि क्षणिक भोगमा लाग्नु व्यर्थ सम्झी नदीकिनारमा माटोबाट देवीको मूर्ति बनाई देवीसूक्तले भगवतीको उपासना गर्न थाले। कठोर उपासनापछि प्रसन्न भएकी चण्डिका देवीले प्रत्यक्ष दर्शन दिँदै वरदान माग भनिन्। राजाले शत्रु पराजयसहित अकण्टक राज्यको माग गरे भने बुद्धिमानी वैश्यले ममता र अहंतारूप आसक्तिलाई नाश गर्ने ज्ञानशक्ति मागे।

देवीले राजा तिमीले केही दिनमै शत्रुलाई परास्त गर्दै आफ्नो राज्य पुनः प्राप्त गरी मृत्युपछि सूर्यवंशमा जन्म लिई सावर्णिक मनुका नामबाट पृथ्वीमा चर्चित हुनेछौ।

वैश्यवर्य! तिमी ज्ञानका पिपासु रहेछौ। मबाट पाएको वरदानले मोक्षगति प्राप्त गर्नेछौ भन्दै देवी अन्तर्ध्यान हुनुभयो। देवीबाट वरदान पाएका सुरथले राज्य भोग गर्नथाले भने वैश्यले सुखभोगको इच्छा नराखेकोले मोक्षगति प्राप्त गरे।’

दसैँमा पाठ गरिने दुर्गासप्तशती चण्डीको कथासार हो।

वर्णाश्रम धर्मानुसार वैश्यकोटिमा परेका वैश्यको सुखभोगको साधन मोक्षगतिको रहयो।

क्षत्रियवंशका राजा सुरथ सांसारिक सुखभोगको लिप्साले गर्दा पुनः राज्य प्राप्त गरी पारिवारिक मोहजालमा फर्किए।

शिल्पीदेवता विश्वकर्माले शस्त्रास्त्र, रथ तथा विभिन्न पुर निर्माण गरिदिए। ब्राह्मणकुलका ऋषिमुनिहरूले लक्ष्य प्राप्तिका लागि ज्ञान प्रदान गरे। प्रत्यक्ष फलका भोक्ता क्षत्रिय र वैश्य कुलका राजा सुरथ र वैश्य भए। देवीका परमभक्तका रूपमा वैश्य स्थापितहुन पुगे।

देवीका सच्चा उपासक मगर, सूर्यवंशी, चन्द्रवंशी, नेवाः, कुलुङ, किराँत, लिम्बु आदि समृद्ध वैश्य परम्पराबाट दीक्षित शक्तिपीठका मूल पुजारी हुन पुगे। नेपालमा यो परम्परा कायमै छ।
दसैँ बाहुन र क्षेत्रीको भन्ने मगर संघ तथा कथित मूलवासी एमएनओ भनिने जातिवादी र अतिवादीले आफ्नो मूल शास्त्र नजानी अरुको उपदेश सुन्ने कि? आफ्नो मूल स्रोतको खोजी गर्ने? दसैँ कसको रहेछ?

मनकामना मन्दिरका मूल पुजारी रैथाने थापा मगर हुन्। गण्डकी प्रदेशका अन्य शक्तिपीठमध्ये स्याङ्जाको सातौँ चण्डीथान र छाब्दी बाराही मन्दिरमा थापा मगर पुजारी छन्। त्यस्तै तनहुँको छाब्दीबाराही र दाङको बाह्रकुने तालस्थित बाराही मन्दिरमा क्रमशः मगर र घर्ती मगर पुजारी रहँदै आएका छन्। धादिङको सल्यानकोट माई मन्दिरमा राना मगर पुजारी छन् भने गोरखाको कालिका दरबारमा काली स्थापना भएको स्थानमा समेत मगर समुदायका पुजारी नियुक्त छन्।

तराई क्षेत्रमा हेर्दा बाराको गढीमाई मन्दिरमा थारू पुजारी छन्। सुर्खेतको देउतीबज्यै मन्दिरमा पनि थारू समुदायकै पुजारी छन्।

पूर्वी नेपालमा ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा रैथाने लिम्बू पुजारी छन्। धनकुटाको छिन्ताङ देवी मन्दिर र हेटौँडाको भुटनदेवी मन्दिरमा राई पुजारी कार्यरत छन्।

काठमाडौँ उपत्यकाका शक्तिपीठहरूमा भने प्रायः बज्राचार्य र कर्माचार्य थरका पुजारी परम्परागत रूपमा नियुक्त हुन्छन्। दक्षिणकाली, शोभाभगवती, भद्रकाली, नुवाकोटको भैरवी र भक्तपुरको नवदुर्गा भगवती मन्दिरमा बज्राचार्य वंशका पुजारी छन्।

प्रकाशित: ११ असोज २०८२ ६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast