अंग्रेजी शिक्षकबाट व्यवसायिक तरकारी किसान बने प्रकाश पैतोला

हिमाल प्रेस ९ असोज २०८२ १७:००
16
SHARES
अंग्रेजी शिक्षकबाट व्यवसायिक तरकारी किसान बने प्रकाश पैतोला

कञ्चनपुर- एक समय गाउँको विद्यालयमा अंग्रेजी विषय पढाउने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित छन्। शिक्षण पेसा छोडेर व्यवसायिक रूपमा तरकारी खेतीमा लागेका उनले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-८ निवासी पैतोला पाँच वर्षअघि विद्यालयको जागिर छोडेर तरकारी खेतीमा लागेका हुन्।

उनले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। ‘कोभिड संक्रमण अघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थें लामो समय लकडाउन भएपछि मैले तरकारी बिक्री गर्न थाले‍ं,’ पैतोलाले भने,‘सुरुवातमा ६ कठ्ठा भाडामा लिएर टमाटर मात्रै लगाएँ, पछि विस्तारै लहरे तरकारी विस्तार गर्दै आएँ।’

उनले सुरुवातमा तरकारी उत्पादन गर्ने किसानबाट तरकारी खरिद गरेर बजारमा बिक्री गरेका थिए। पछि उनलाई आफैँले खेतीमा लाग्नुपर्छ भन्ने सोच आएपछि जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गरेका हुन्। वैदेशिक रोजगारीको मोहले उनलाई पनि नछोएको होइन। त्यसका लागि उनले सबै कागजात तयार गरेर वैदेशिक रोजगारीको तयारीसमेत गरेका थिए।

तर पछि अर्काको नोकरी गर्नुभन्दा आफ्नै ठाउँमा आफैँले केही गर्नुपर्छ भन्ने लागेपछि उनले वैदेशिक रोजगारीमा जान छोडेर तरकारी खेती विस्तार गरे। ‘अर्काको ड्युउटी गर्नुभन्दा आफैँले गर्नु राम्रो लाग्यो,’ उनले भने, ‘विदेश जाँदा दुःख बिरामी भएका बेला परिवारको ख्याल राख्न पाइदैन, यहाँ केही गरे परिवारसँग बस्न पाउँछु, परिवारको हेरचाँर र आम्दानी पनि हुने भयो।’ उनले अहिले दैनिक ८०० ज्याला दिनेगरी तीन जना कामदारसमेत राखेका छन्। उनको जग्गामा टमाटर, करेला, काँक्रालगायतका लहरे तरकारी उत्पादन भइरहेको छ।

अंग्रेजी विषयमा स्नातक तहसम्म अध्ययन गरेका पैतोला अहिले पनि फूर्सदमा विद्यार्थीलाई ट्युसन पढाउँदै आएका छन्। पैतोलाजस्ता शिक्षित युवाले कृषि व्यवसायलाई रोजगारीको माध्यम बनाउनु सकारात्मक संकेत हो । सरकारी निकायले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने हो भने कृषि क्षेत्रमा थप व्यवसायीकरणमा टेवा पुग्ने छ। रासस

प्रकाशित: ९ असोज २०८२ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast