नेताले मात्रै बोल्न खोजेपछि माओवादी बैठकमा आपत्ति

हिमाल प्रेस ९ असोज २०८२ १५:२६
26
SHARES
नेताले मात्रै बोल्न खोजेपछि माओवादी बैठकमा आपत्ति काठमाडौँको प्रज्ञा भवन कमलादीमा बिहीबार बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति सातौं पूर्ण बैठक। तस्बिर : रासस

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबार काठमाडौँमा सुरु भएको छ। बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीका बारेमा महासचिव देव गुरुङले जानकारी गराएपछि केही नेताले आपत्ति जनाएका छन्। नेता रन्जित तामाङ, सुदन किरातीलगातले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखेका थिए।

प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवम् संगठनात्मक प्रस्ताव राखेका छन्। प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका छन्। यसमा असहमति जनाउँदै केही नेताहरूले सबैले वर्तमान परिस्थितिबारे दुई/तीन मिनेट बोल्न पाउनुपर्ने भनेका थिए।

पार्टी अध्यक्ष प्रचण्डले राखेको राजनीतिक एंव संगठनात्मक प्रस्तावमाथि प्रदेशअनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने कार्यसूचीमा केही नेताले आपत्ति जनाएका हुन्।

केन्द्रीय सदस्य सुदन किरातीले पार्टी बैठकमा सबै नेताले आआफ्नो कुरा राख्नुपर्ने बताए। ‘आमाले त आफ्नो नानीको प्रतिनिधित्व गर्न सक्दैन भने यहाँ कसैले हाम्रो प्रतिनिधित्व गर्न सक्दैन। हामी आफैँ बोल्नुपर्छ’, किरातीले बैठकको बीचमै उठेर भने।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्षसमेत रहेका रञ्जित तामाङले नेताहरूमा बाहिर अनेक बोल्ने तर पार्टी बैठकमा केही नबोल्ने प्रवृत्ति भएको बताए। उनले भने, ‘ अबको स्थितिमा पार्टीको संगठनलाई कसरी अगाडि लाने हो भन्ने दृष्टिकोणमा सबैले दुईतीन मिनेट राख्नुपर्छ। बाहिर अनेकौँ तर्क राख्ने। पार्टीको बैठकमा केही नराख्ने। केही सीमित मान्छेहरूले मात्रै राख्ने अवस्थाले अहिलेको अवस्थालाई नेतृत्व गर्न सकिँदैन।’

त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरुले जनाएका छन्।

प्रकाशित: ९ असोज २०८२ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast