बाबुरामको नयाँ कोर्स : पुराना दलमाथि नैतिक दबाब, वैकल्पिक शक्ति र जेनजीका ‘अभिभावक’

रमेश दवाडी ९ असोज २०८२ १५:०८
36
SHARES
बाबुरामको नयाँ कोर्स : पुराना दलमाथि नैतिक दबाब, वैकल्पिक शक्ति र जेनजीका ‘अभिभावक’

काठमाडौँ- पुराना दलहरूको जरा हल्लाउने जेनजी विद्रोहपछि डा‍‍. बाबुराम भट्टराईले पार्टी अध्यक्ष पद त्याग्दै आफूलाई वैकल्पिक राजनीति र नयाँ पुस्ताको अभिभावकका रूपमा उभ्याउने घोषणा गरेका छन्।सत्ता र पदभन्दा पुस्तान्तरणलाई प्राथमिकता दिँदै भट्टराईले नेसपा नयाँ शक्तिको अध्यक्ष पद त्यागेर वैकल्पिक शक्तिलाई एकताबद्ध गर्ने नयाँ कोर्स थालनी गरेका हुन्।

२०७२ सालमा माओवादी छाडेयता पूर्वप्रधानमन्त्री डा. भट्टराई वैकल्पिक पार्टी निर्माणमा सक्रिय रहँदै आएका छन्। माघ अन्तिम साता काठमाडौँमा सम्पन्न नेसपा नयाँ शक्तिको पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भट्टराईले बुधबार केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट अध्यक्ष पद त्यागको घोषणा गरेका हुन्। नयाँ शक्तिले नेतृ दुर्गा सोबको नेतृत्वमा विशेष महाधिवेशन घोषणा गरेको छ। यसबीचमा विभिन्न शक्तिबीच एकता हुँदा एकता महाधिवेशन पनि हुन सक्ने नेताहरू बताउँछन्।

बाबुरामको यो कदम हठात् भने होइन। सत्ता, शक्ति, पदलाई गौण र अग्रगामी विचार एजेन्डालाई प्रधान ठानेर उनले गत कात्तिकमा पोखरामा भएको पहिलो विधान अधिवेशनमा पार्टी नेतृत्व छाड्ने संकेत गरेका थिए।

भदौ २३-२४ गते देशभर फैलिएको जेनजी विद्रोहले पुराना राजनीतिक दलहरूको जरा हल्लाएको छ। दलहरू भ्रष्ट, पदलोभी र अलोकतान्त्रिक भएको भन्दै सडकमा उत्रिएका नयाँ पुस्ताले नैतिक दबाब सिर्जना गर्‍यो। यसै पृष्ठभूमिमा डा. भट्टराईको अध्यक्ष पद त्यागलाई जेनजी आन्दोलनको प्रत्यक्ष प्रभावका रूपमा हेरिएको छ।

विधान महाधिवेशन हलमा डा. भट्टराईले भनेका थिए, ‘यो बाबुरामको मात्रै पार्टी भयो, बौद्धिक भयो, जान्ने भयो भन्ने प्रचार भएको छ। यसबाट म लज्जित र वाक्कदिक्क छु। बाबुराम भोलि मर्न सक्छ। बोल्दाबोल्दै हृदयाघात भएर मर्न सक्छ। वैकल्पिक शक्ति र विचारको के हुन्छ? भोलि यसलाई कसले अगाडि बढाउने? कोही त तयार हुनैपर्छ।’

वर्तमान राजनीति परिदृश्यमा वैकल्पिक धारको राजनीति पार्टी तथा व्यक्तिका रूपमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनमत पार्टी, विवेकशील साझा पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल, बालेन शाहलगायत रहेको बुझाइ छ।

ती पार्टी तथा व्यक्तिका प्रतिनिधिहरूले डा.भट्टराईलाई सामूहिक तथा छुट्टाछुट्टै भेटिरहेका छन्। नयाँ शक्तिको विधान अधिवेशन बेला पोखरामा डा. भट्टराईलाई रास्वपा नेताकार्यकर्ताले भेटेर पार्टीको अभिभावक बन्न प्रस्ताव  गरेका थिए।

कुन विषयलाई वैकल्पिक राजनीतिको विचार, एजेन्डा भन्ने त्यो बहसको विषय छ तर बाबुरामले अघि सारेको वैकल्पिक एजेन्डाचाहिँ समतामूलक समृद्धि, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, उन्नत समाजवाद, स्वाधीनता/सार्वभौमसत्ता हुन्। अर्को मुख्य एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो। नयाँ शक्तिले पार्टी वैकल्पिक भएर मात्रै नहुने भन्दै अग्रगामी सोच, व्यवहार, कार्यशैलीलाई प्रधानता दिएको नेताहरूले बताएका छन्।

नेसपाका नेताहरूको प्रतिक्रिया- डा. भट्टराई जेनजी र वैकल्पिक शक्तिको अभिभावक बन्नुपर्छ

निश्चित पार्टीको अध्यक्ष भएर बस्दा सबै वैकल्पिक राजनीतिको अभियन्ता तथा व्यक्तिलाई समेट्न नसकिने हुँदा डा. भट्टराईले अध्यक्ष पद त्याग गरेको नेसपा नयाँ शक्तिका नेताहरूको बुझाइ छ। डा.भट्टराईले अध्यक्ष पद त्याग्ने गृहकार्य जेनजी आन्दोलनपछि तीव्र बनाएको उनी निकट ईश्वर रिजाल। उनले हिमालप्रेससँग भने, ‘डा.भट्टराईले बृहत् ढंगबाट सोच्नुभएको होला। साँघुरो घेरामा बसेर हुँदैन, परिस्थिति अर्को आयो, घटना परिघटना जहाँ जे भए पनि जेनजी विद्रोह नै हो। जसले समाज रूपान्तरणमा योगदान दिन्छ। जेनजी आफैँ प्लानमा छैन तर यसले नयाँ बाटो सुरु गरेको छ, राजनीतिक दलहरूको जरा काटेको छ।’ रिजालका अनुसार भट्टराईले दलमा मात्रै सीमित भएर हुँदैन भनेर  निरन्तर कुरा उठाइरहेका थिए।

‘पछिल्लो समय उहाँले पार्टीभन्दा माथि उठेर हेर्नुपर्छ, समग्र हेर्छु, पार्टी आफ्नो ढंगले सञ्चालन गर्दै गर्नुस्, मैले पार्टी मात्रै हेर्न भन्दा सबै नयाँ दलहरूलाई एक ठाउँमा ल्याउन पार्टीको दायराभन्दा बाहिर जाँदा राम्रो हुन्छ भन्ने प्रस्ताव राख्नुभयो। पदाधिकारी साथीहरू बस्यौँ र ठिक हो भन्नेमा पुग्यौँ’, रिजालले भने।

डा.भट्टराईको अध्यक्ष पद त्यागलाई आफूले सकारात्मक रूपमा लिएको नेता रिजाल बताउँछन्। ‘अभिभावकका रूपमा आउनुपर्‍यो भनेर वैकल्पिक दलहरूले आह्वान गरिरहेको अवस्थामा एउटा दलमा रहिसकेपछि गाह्रो हुने भएकाले नयाँ वैकल्पिक शक्तिको अभिभावका रूपमा रहँदा राम्रो हुन्छ। उहाँको पद त्यागलाई सकारात्मक रूपमा लिएको छु।’

नेसपा नयाँ शक्तिको विशेष महाधिवेशन सदस्यसचिव सोनामसिं स्याङ्ताङले मुलुकमा बदलिएको परिवेशमा एउटा पार्टीको मात्र नेता नभएर वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व गर्नुपर्ने बोध भएर डा. भट्टराईले पद त्याग गरेको बताए।

‘उहाँले पार्टी होइन अध्यक्ष पदमात्रै त्याग गर्नुभएको हो। नेपालमा जेनजी विद्रोहपछि मुलुकमा जे परिस्थितिको विकास भइरहेको छ यसलाई डा. भट्टराई र नेसपा नयाँ शक्तिले विगत लामो समयदेखि उठाउँदै आएको वैकल्पिक राजनीतिको मिसन थियो। त्यसको थप पुष्टि गर्दै अझै नयाँ ढंगले मुलुकको रूपान्तरण गर्नुको विकल्प छैन।  डा.भट्टराईले एउटा पार्टीको मात्र नेता नभएर सिंगो वैकल्पिक नेतृत्व गर्नुपर्ने बोध भएर उहाँले पद त्याग गर्नुभएको हो।’

नेसपा नयाँ शक्तिका नेता कृष्ण शर्माले जेनजी विद्रोहको म्यान्डेडलाई पालना गर्न नेतृत्व हस्तान्तरण गर्नुपर्छ र त्यसको नेतृत्व थालनी आफैँबाट गर्नुपर्छ भनेर डा.भट्टराईले पदत्याग गरेको बताए।

‘जेनजी विद्रोहको म्यान्डेडलाई पालना गर्नका लागि नेतृत्व हस्तान्तरण गर्नुपर्छ। त्यसको नेतृत्व थालनी आफैँबाट गर्नुपर्छ भनेर डा.बाबुराम भट्टराईले पदत्याग गर्नुभएको हो,’  नेता शर्माले भने, ‘अब एउटा दलको सीमित घेराभित्रबाट होइन बाहिरबाट वैकल्पिक राजनीतिका पक्षधरलाई बृहत् ढंगले एकताबद्ध गरेर संयुक्त मोर्चा बनाएर जेनजी आन्दोलनका मुद्दा पूरा गर्न सकिन्छ र देशलाई अग्रगमनमा लैजान सकिन्छ भन्ने हो।’ त्यसो गरिएन भने दशकौँ लगाएर ल्याएको लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रणाली, धर्म निरपेक्षता, संघीयता, संविधान मात्र नभई देशको सार्वभौमसत्तासमेत खतरामा जाने र देशविदेशीको क्रीडास्थल हुने भएकाले बाबुरामले यस्तो कदम चालेको शर्मा बताउँछन्।

डा.भट्टराईले बुधबार केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा पदत्यागको घोषणा गर्दा केही नेताहरूले आश्चर्य माने। नेता रोशन पोखरेल भन्छन्, ‘डा.साबले बैठकमा पद त्यागको प्रस्ताव ल्याउँदा केहीले आश्चर्य मान्नुभयो। उहाँले जेनजी विद्रोहबारे सविस्तार व्याख्या गर्नुभयो। मुलुकको परिस्थिति र आवश्यकताका लागि हामीले बनाउन खोजेको वैकल्पिक शक्ति कस्तो हो भन्नेमा धारणा राख्नुभयो। त्यसपछि सबै सहमत हुनुभयो।’

नेता पोखरेल पनि डा.भट्टराईको पद त्यागलाई सकारात्मक रूपमा लिन्छन्। उनी भन्छन्, ‘ डा.भट्टराईले जे गर्नुभयो ठिक गर्नुभयो। हामीले देशको घटनाक्रम पनि हेर्नुपर्थ्यो। पछिल्लो समय पुस्तान्तरणको विषय पनि आएको थियो। नेतृत्व त विचारसहितको हुन्छ। जेनजी विद्रोहपछि सबै पार्टीमा आएको कम्पन र दिनपर्ने सन्देशका निम्ति डा. भट्टराईको पदत्याग हो।’

महाधिवेशनमा डा. भट्टराईसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका नेसपा गण्डकी प्रदेश संयोजकसमेत रहेका नेत्र चापागाईँले डा.भट्टराईले पदत्यागलाई जेनजी पुस्ताको मागका रूपमा लिएका छन्। उनी भन्छन्, ‘जेनजी आन्दोलनको जे माग थियो, त्योचाहिँ डा.बाबुराम भट्टराईको पद त्यागबाट भएको छ। राजनीति र राजनीतिक दलको पुनर्संरचनाको माग पूरा गर्न डा.भट्टराईले थालनी गर्नुभएको छ, यो सकारात्मक कदम हो।’

नेसपा नयाँ शक्तिका नेता रूपनारायण श्रेष्ठले डा. भट्टराईको अध्यक्ष पदत्याग पछि नेताहरूलाई आवेग र भावनामा नबहकिन आग्रह गरेका छन्। उनले भने, ‘आवेग र भावनामा कोही नबहकिन नेसपा नयाँ शक्तिका मित्रहरूलाई आग्रह गर्दछु। हामीले जमेर बसेको नेपाली राजनीतिक पार्टीहरूलाई पुनःगठन र रूपान्तरणको ढोका खोलिदिएको हो।’

नेसपा नयाँ शक्ति नेता मञ्जु तामाङले जेनजी आन्दोलनलाई महान् विद्रोहका रूपमा ग्रहण गर्दै जेनजीलगायत सबै जनताको चाहनाबमोजिम डा. भट्टराईले अध्यक्ष पद परित्याग गरेको रूपमा बुझेकी छन्। ‘यो निर्णयले हामीलाई केही दु:खी बनायो र अझै केही समय पार्टीलाई असहज नै होला। तथापि डा.भट्टराईले चाल्नुभएको यो कदम नेपाली राजनीतिमा ऐतिहासिक साबित हुनेछ।’ बाबुरामको पछिल्लो कदमले बाँचुन्जेल सत्तामा टाँसिरहने केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूलाई नैतिक प्रश्न खडा गरिदिएको उनी बताउँछन्। छरपस्ट अवस्थामा रहेका वैकल्पिक भनिएका व्यक्ति, समूह वा दलहरूले अब साझा अभिभावक पाउने विश्ववास तामाङको छ।

नेसपा नयाँ शक्तिकै अर्की नेतृ ईश्वरी थापा हरेक क्षेत्रमा पुस्ताको अन्तर देखिए पनि राजनीतिमा भने यथास्थितिकै नेतृत्वमा पदलोलुपसहित एकल नेतृत्वद्वारा हैकम र लामो समयको हालीमुहाली देखिएकै बीचमा डा.भट्टराईले अध्यक्ष पद त्याग गरेर राजनीतिक नैतिकता प्रदर्शन गरेको बताउँछिन्। उनी भन्छिन्, ‘ऐतिहासिक हिम्मतका साथमा डा.बाबुराम भट्टराईको यो साहस निकै सराहनीय छ। सबै दलहरूका लागि यो अनुकरणीय सन्देश भएको छ।’

विश्लेषकको मूल्यांकन : अरू दलले प्रेरणा लिनुपर्छ

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले डा. भट्टराईले अध्यक्ष पद त्याग गरेको निर्णयलाई ऐतिहासिक र सकारात्मक कदमका रूपमा मूल्यांकन गरेका छन्। आचार्यका अनुसार पार्टी अध्यक्ष पद त्यागेर भट्टराईले समयसापेक्ष कार्य गरेका छन्। विश्लेषक आचार्यले हिमालप्रेससँग भने, ‘उहाँले पार्टी अध्यक्ष त्याग गरेर राम्रो गर्नुभयो। यसलाई मैले उच्च मूल्यांकन गर्दछु। कसै न कसैले थालनी गर्नुपर्थ्यो। बाबुरामजीजस्तो बुझेको, त्यस्तो सोच भएको, ज्ञानी पुरुषले सुरुवात गर्नुभयो।’

आचार्यले डा. भट्टराईको निर्णयले अन्य दलका नेताहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे। उनले भने, ‘यसबाट अरू राजनीतिक दलका नेतृत्वले पनि प्रेरणा लिएर अगाडि गएदेखि नेपालको भविष्य सुन्दर हुने थियो। समयको माग हो, राष्ट्रको आवश्यकता हो। बाबुरामजीले बाटो खोल्नुभयो।’

अर्का विश्लेषक डम्बर खतिवडाले जेनजी आन्दोलनका मागमध्ये एक महत्त्वपूर्ण सवाल नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण भएको बताउँदै डा.भट्टराईको कदमलाई स्वागत गरेका छन्। नयाँ शक्ति पार्टीका पूर्वनेतासमेत रहेका खतिवडाले बुधबार साँझ सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जेनजी आन्दोलनका मागमध्ये एक महत्त्वपूर्ण सवाल नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरण हो। पार्टी सानो ठूलो आफ्नो ठाउँमा छ तर डा.बाबुराम भट्टराईको निर्णय स्वागतयोग्य छ।’

अब केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, महन्थ ठाकुर, मनविक्रम सिंह (एमबी), नारायणमान बिजुक्छें, सीपी मैनाली, मोहन वैद्य ‘किरण’ आदि सबैले नैतिक दबाब महसुस गर्नुपर्ने खतिवडाको भनाइ छ।

जेनजी पुस्ता उत्साहित

जेनजी विद्रोहका अभियन्ता अमित खनालले डा. भट्टराईले नेसपा नयाँ शक्तिको अध्यक्ष पदत्यागको निर्णय सकारात्मक भएको बताए। उनले हिमालप्रेससँग भने, ‘डा.बाबुराम भट्टराईलाई बौद्धिक, दूरदर्शी नेतृत्वका रूपमा मान्छु। जेनजीले उठाएका कतिपय माग डा.भट्टराईले एक दशकदेखि उठाउँदै आउनुभएको थियो। उहाँको अध्यक्ष पदत्याग सकारात्मक छ।’ अब  भट्टराईले  सम्पूर्ण वैकल्पिक राजनीतिक पार्टीलाई एक धारमा ल्याउने आशा खनालको छ। ‘एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका नेताहरूले आफ्नो पद काखी च्यापेर बसेका छन्. यस्तो अवस्थामा स्वस्फूर्त आफ्नो विवेक प्रयोग गरेर डा.साबले पद त्याग गर्नुभएको छ, यो जेनजी पुस्ताका लागि खुसीको खबर हो’, उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast