
काठमाडौँ- निर्देशक सन्तोष सेनले फिल्म ‘बलिदान’ प्रति आफ्नो अटुट भरोसा रहेको बताएका छन्। उनले फिल्मलाई केवल मनोरञ्जनको साधन मात्र नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका हुन्।
‘हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज पर्दामा आउन लागेको छ,’ उनले भने, ‘यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो।’
फिल्मलाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण रहेको उनले बताए। ‘हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछ। साथै, राजनीतिक कुटिलताले आम जनतालाई कसरी बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देश पनि दिन्छ,’ उनले भने।
फिल्मको मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गर्दै निर्देशक सेनले भने, ‘हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ। यी दुवै नै हाम्रो जीवनका आधार हुन्। फिल्ममा यही आधार समेटिएको छ। फिल्म हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन्।’
निर्देशक सेनले ‘बलिदान’ लाई केवल फिल्म मात्र नभएर हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका छन्। उनका अनुसार, बलिदान’ हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउनेछन्।फिल्मको ट्रेलरले पनि चर्चा ल्याएको छ। ट्रेलरमा एक आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य देखिन्छ।
आशुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
फिल्म यही असोज १३ मा प्रदर्शन हुनेछ।