
काठमाडौँ- मनोरञ्जन क्षेत्रमा दसैँलाई फिल्म प्रदर्शन गर्ने प्राइम टाइम मानिन्छ। दसैँमा लामो बिदा हुने भएकोले दुईभन्दा बढी फिल्म प्रदर्शन हुन्छन्। यसवर्ष दसैँ लक्षित असोज १३ देखि तीन नेपाली फिल्म एकसाथ प्रदर्शन भएको छ। ती हुन्, ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’। यी तीन फिल्मको कथा एकै छैनन्। बिदाको सदुपयोग गर्दै दर्शकले तीनओटै फिल्ममा कथा, शैली, परिवेशका आधारमा छुट्टाछुट्टै मनोरञ्जन लिन सक्नेछन्। त्यसो त कुन फिल्म कस्तो छ हेरौं,
माइतीघर
फिल्म ‘माइतीघर’ सामाजिक कथामा बनेका पारिवारिक फिल्म हो। यो फिल्मले तामाङ समुदायको संस्कार र संस्कृतिलाई उजागर गरेको छ। साथै फिल्ममा अन्तजातीय र त्रिकोणात्मक प्रेम कथा पनि समेटिएको छ।
फिल्मका निर्देशक हुन् मिलन तामाङ। फिल्ममा अभिनेत्री उपासनासिंह ठकुरी, प्रकाश सपुत मुख्य भूमिकामा छन्। फिल्ममा उनीहरूकै प्रेम पछिको वैवाहिक जीवनमा आइपर्ने आरोह/अवरोह र पारिवारिक उतारचढाव देख्न पाइन्छ। साथै फिल्मले ग्रामीण परिवेशलाई पनि समेटेको छ। त्यस्तै, फिल्ममा केदार घिमिरे, बुद्धि तामाङको संवाद कमेडी शैलीमा प्रस्तुत गरिएको छ। जसले दर्शकलाई थप मनोरञ्जन दिनेछ।
फिल्मको अर्को पक्ष भनेको २०३२ सालमा प्रदर्शन भएको फिल्म ‘माइतीघर’ को गीत ‘मेरो प्यारो माइतीघर’ पनि यसमा समावेश गरिएको छ। यो गीतलाई दर्शकले पनि रुचाएका छन्। फिल्ममा धीरज मगर, केदार घिमिरे, बुद्धि तामाङ, श्यामाश्री शेर्पा, शिशिर बाङ्देललगायत कलाकारको अभिनय गरेका छन्। रामशरण पाठकको लेखन रहेको फिल्मका निर्माता रविन शेरचन र धीरज तामाङ हुन्।
बलिदान
दसैँमा प्रदर्शन भएको अर्को फिल्म हो ‘बलिदान’। फिल्म देशको समसामयिक विषयवस्तुमा बनेको छ। फिल्ममा देशलाई बचाउन आवश्यक परेको खण्डमा ज्यान लिने र दिन पनि तयार हुने एक युग पुरुषको कथा समेटिएको छ।
फिल्मका निर्देशक सन्तोष सेन हुन्। फिल्मको ट्यागलाइन नै ‘यो ज्यान बलिदान’ राखिएको छ।
नेपाली माटोको कथा, देशमा भ्रष्टाचार, अनियमितता, र पदको गलत प्रयोगपछि मातृभूमि बचाउन एक युग पुरुषको जन्म कसरी हुन्छ भनेर देखाउन खोजिएको छ। एक्सन मन पराउने दर्शकका लागि फिल्म उत्तम हुनेछ। फिल्मको कथाले देशको माया र चिन्ता पनि व्यक्त गरेको छ।
एक्सन र ड्रामा जनरामा बनेको फिल्मको मुख्य भूमिकामा नव अभिनेता समीर भट्ट छन्। उनले गतवर्ष दसैँमै प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ बाट अभिनयमा डेब्यु गरेका हुन्। पहिलो फिल्मबाट नै उनको चर्चा सर्वत्र छ। यो उनको दोस्रो फिल्म हो।
फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, कामेश्वर चौरासिया, सन्तोष सेन, ऋचा शर्मा, कविता रोय, हेमन्त बुढाथोकी, प्रेम पुरी, निर्देशक सन्तोष सेन, प्रज्ज्वल दुलाल जीवन बराललगायत कलाकारको जीवन्त अभिनय छ। आसुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मको कथा दर्शन जीले लेखेका हुन्। फिल्ममा पवन ब्राफोर्ड बिष्टले लगानी गरेका छन्।
हरिबहादुरको जुत्ता
अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ कमेडी जनरामा बनेको छ। फिल्मको मुख्य भूमिकामा छन्, वरिष्ठ कलाकार अभिनेता हरिवंश आचार्य। यो हरिवंशको हरिवंशको बहुचर्चित पात्र हो।
फिल्मको कथा नै हरिबहादुर पात्र वरिपरि घुमेको छ। उनकै जीवनकथालाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ। लामो समयपछि दर्शकले हरिबहादुर पात्रलाई ‘हरिबहादुरको जुत्ता’ मार्फत ठूलो देख्न पाउनेछन्।
समसामयिक र पारिवारिक विषयवस्तुसँगै फिल्ममा राजनीतिक परिवेश पनि जोडिएको छ। कथामा हरिबहादुर र उनको जुत्तामार्फत समाजका विभिन्न समस्यासँग हास्य रस जोडिएको छ। साथै हास्यसँगै जीवन संघर्ष, माया÷प्रेमका कथा पनि मिसिएको छ।
दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्यसहित स्वस्तिका खड्का, प्रकाश सपुत, प्रियंका कार्की, दिव्यदेव पन्त, किरण केसी, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल, सीता न्यौपानेलगायत कलाकारको अभिनय छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। फिल्मले सामाजिक सन्देशसहित दर्शकलाई मनोरञ्जन दिनेछ।