
काठमाडौँ- गायक अशोक दर्जी अभिनीत फिल्म ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अशोक विद्यालयको पोशाकमा पढ्दै गरेको देख्न सकिन्छ। उनको एक हातमा कलम र अर्कोमा किताब पनि छ।
फिल्ममा अशोकको जिरोदेखि हिरो बन्नुसम्मको कथा प्रस्तुत गरिएको टिमले जनाएको छ। अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन भएको छ। उनी अहिले काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन्।
टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। टंक बुढाथोकीकै कथा रहेको फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। फिल्म आगामी कात्तिक २१ मा प्रदर्शन हुनेछ।
फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायतका कलाकारको अभिनय छ।
फिल्मका निर्माता विष्णुमाया मैनाली हुन्। कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छन्।