
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले पदभार सम्हालेको दोस्रो दिन मंगलबार तीनवटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। उनले मन्त्रालयमै बसेर तत्काल कार्यान्वयन गर्न सकिने तीन महत्त्वपूर्ण कदम चालेका छन्।
पहिलो, नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले हरेक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्ने निर्णय गरिएको छ।
दोस्रो, विश्वविद्यालयहरूले परीक्षा लिएर ८ महिना देखि १ वर्षसम्म परीक्षाफल निकाल्न ढिलाइ गर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिइएको छ। मन्त्री पुनले अब बढीमा तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्न विश्वविद्यालयलाई अनिवार्य गर्ने तथा समयमा परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गर्ने चेतावनी दिएका छन्। उनले उदाहरण दिँदै भने, ‘राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका पाँच लाख विद्यार्थीको नतिजा तीन महिनाभित्रै निकाल्न सक्छ भने विश्वविद्यालयले किन सक्दैन?’
तेस्रो, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्रको ठूलो क्षेत्रफलमा फैलिएको झाडी सफा गरी सुन्दर बगैँचा र फुटपाथ निर्माण गर्ने योजना अघि बढाउने घोषणा गरिएको छ। उनले यस क्रममा ठूला रुख नकटाई वातावरणमैत्री ढंगले सफाइ अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
मन्त्री पुनका निर्णयहरू
१. नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने।
२. केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरूको लागि त्यो अपुरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरि दिने। राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।
३.त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुखहरू नकाट्ने) सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।